काठमाडौँ, मङ्सिर १७ : उज्यालो नेपालका संस्थापक तथा मन्त्री कुलमान घिसिङले फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावले देशलाई वर्तमान अवस्थाबाट निकास दिने र जेन-जी आन्दोलनलाई संस्थागत गर्ने बताएका छन् ।
उज्यालो नेपाल पार्टी घोषणा सभालाई बुधबार सम्बोधन गर्दै घिसिङले जनताको तहबाट नै परिवर्तनलाई संस्थागन गर्नका लागि एकजुट भएर लाग्नुपर्ने बताए । ‘परिवर्तनलाई संस्थागत कसरी गर्ने भन्ने महत्त्वपूर्ण छ । देशलाई कसरी सेफ ल्यान्डिङ गर्ने भन्ने महत्त्वपूर्ण छ । यसबाट अब देशले निकास पाउनुपर्छ,’ उनले भने, ‘फागुन २१ को चुनाव त हुन्छ तर चुनावपछि कसको सरकार आउँछ भन्ने प्रश्न गम्भीर छ । त्यै भएर यो उज्यालो पार्टी जन्मिएको होला । अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनसक्ने व्यक्ति, संस्था र पार्टीहरूले गर्नुपर्छ ।‘

घिसिङले प्रधानमन्त्रीदेखि तल्लो तहसम्मका व्यक्तिहरू सही हुनुपर्ने बताए । ‘प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सही हुनुपर्छ ।
सही व्यक्ति, सही समयमा, सही ठाउँमा हुनुपर्छ त्यसपछि देश परिवर्तन हुन्छ । त्यसपछि ठूलो परिवर्तन सम्भव हुन्छ । सही व्यक्ति छानिएनन्, आफ्नो व्यक्तिहरू छानिए भने देश परिवर्तन हुँदैन,’ उनले भने, ‘ठूल्ठूला भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माण र समृद्धिमा असफल हुन्छ । भाषण हैन डेलिभरी दिनुपर्छ, परिणाममुखी राजनीति हुनुपर्छ ।‘ जनताको विश्वास गुमेपछि नेतृत्व असफल हुने पनि घिसिङको भनाइ थियो ।

राजनीतिमा सही व्यक्तिहरू आउनुपर्ने पनि घिसिङको आह्वान थियो । ‘बाहिर बसेर गाली गरिरहने, बाहिर बसेर यो पनि भएन, त्यो पनि भएन भनेर देश परिवर्तन भएन । सही व्यक्तिहरू अब राजनीतिमा आउनुपर्छ,’ उनले भने ।

मन्त्रालयहरूको नेतृत्वमा सही व्यक्तिहरू आउनुपर्ने घिसिङको भनाइ थियो । अबको राजनीति विकासको हुनुपर्ने बताउँदै उनले नेपाल समृद्ध बनाउन धेरै समय नलाग्ने पनि दाबी गरे । मुलुकमा सुशासन भएन र राजनीतिक नेतृत्वको आचरण बिग्रियो, भ्रष्टाचार मौलायो भने जनताको विश्वास गुम्ने उनको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















