काठमाडौँ, १७ मङ्सिर : नागढुंगादेखि मुग्लिनसम्मको ९४.६६ किलोमिटर सडक अहिले स्तरोन्नति भइरहेको छ। राजधानी जोड्ने ‘लाइफलाइन’का रुपमा रहेको यसमा कतै काम सकिने चरणमा छ त कतै निर्माण सामाग्री अभावका कारण ढिलाइ भइरहेको छ । यो सडक भएर दैनिक १२ हजार बढी सवारीसाधन ओहरदोहर गर्छन्, तर सडक स्तरोन्नतिको कामले गति लिन सकेको छैन।
नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ। तीनमध्ये पहिलो खण्ड नागढुंगा–नौबिसे हो। यो खण्डमा पहिलो तहको कालोपत्रको काम सकिएर दोस्रो तहको भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए।
‘चालु आर्थिक वर्षमा पुरै ठेक्का नसकिएपनि कालोपत्रको काम सक्ने योजना छ,’ उनले भने, ‘पहिलो खण्डमा ८ किलोमिटर दोस्रो तहको कालोपत्र भएको छ ।’ यो खण्डको कुल दूरी १२.२६ किमि छ । दोस्रो तहको कालोपत्रको काम सकिनसाथ तेस्रो तहको थालिने उनको भनाइ छ । यस खण्डको समग्र भौतिक प्रगति ८० प्रतिशत छ ।
‘पहिलो खण्डमा ८० प्रतिशत काम सकिएको छ, यसअघि ८४ प्रतिशत प्रगति भनिएको थियो, पछि फेरी झ्याप्ले खोलामा काम थपियो,’ उनले भने, ‘त्यसैले समग्र निर्माणको आकार बढ्दा प्रगति घटेको देखिएको हो ।’ खत्रीपौवाबाट नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको मुखसम्म दोस्रो तहको कालो पत्र हुँदै छ । नौबिसेबाट खत्रीपौवासम्म सम्म भने दोस्रो तहको कालोपत्रको काम सकिएको छ ।
‘खत्रीपौवाबाट पीपलाबाटमोडसम्म सडक बन्द नगरी काम गर्छौ,’ उनले भने, ‘त्यहाँबाट नागढुंगासम्म साँघुरो खण्ड भएकाले केही समय सवारी आवागमन बन्द गरेर काम गर्ने गरी छलफल भइरहेको छ ।’ त्यसपछि तेस्रो तहको कालोपत्रको काम सक्न धेरै समय नलाग्ने उनले सुनाए । अब पहिलो खण्डमा साढे तीन किमि मात्र दोस्रो तहको कालोपत्र गर्न बाँकी छ ।
पहिलो खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएका हुन् । यही खण्डको खानीखोलामा पैदलयात्रीका लागि अपांगमैत्री अकासे पुल बन्दै छ । झ्याप्ले खोलामा एक सय मिटर र ट्राफिक प्रहरीले चेकजाँच गर्ने खण्डमा ५० मिटर कालोपत्र गर्न बाँकी छ । झ्याप्ले खोलामा विशेष प्रकृतिको स्लोप स्टेबलाइजेसन (पहिरो नियन्त्रण) को काम अन्तिम चरणमा पुगेको छ ।
२०७८ चैत २९ मा यस खण्डको ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भयो । २०८१ जेठ २७ भित्र काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो, काम सकिएन । फेरि २०८२ साउन १० सम्मका लागि समय थप्दा पनि काम नसकिएपछि फागुन मसान्तसम्म म्याद थपिएको छ । यो बेलासम्म पहिलो खण्डमा कालोपत्रको काम सकिने दाबी प्रमुख ओझाको छ ।

दोस्रो खण्डमा पर्छ, नौबिसे–मलेखु खण्ड । यसको दूरी ४३.५४ किमि छ । यस खण्डमा टेवा पर्खाल बनाउन बाँकी स्थानमा बनाउने काम भइरहेको प्रमुख ओझाले जनाए । ‘पुरानो कालोपत्र भत्काएर बेस राखी ग्राभेल गर्ने काम भइरहेको छ,’ उनले भने, ‘असार अघि १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको छ,अब २८.५४ किमि बाँकी छ, उक्त दुरीमा चालु आव भित्र कालोपत्रको काम सकिन्छ ।’
जसमा केही खण्डमा मुद्दा मामिलाले गर्दा समस्या भएको उनले सुनाए । ‘यस खण्डमा दोस्रो तहको पनि ४ किमि सडक कालोपत्र भइसकेको छ,’ उनले भने, ‘१३ मध्ये ९ वटा पुलको निर्माण सकिसकेको छ ।’ यसको समग्र प्रगति ४६ प्रतिशत छ । जसको म्याद २०८३ असोजसम्म थप भएको छ । ‘यो बेलासम्म कालोपत्रको काम सक्ने योजना छ, गत वर्ष यो बेला निर्माण सामाग्रीको समस्या थियो,’ उनले भने, ‘अहिले त्यस्तो छैन ।’
यस खण्डमा विद्युत्का पोलको समस्या भने कायमै छ । ‘नौबिसे–महादेववेँसी र आदमघाट–मलेखु खण्डमा विद्युत्का पोल सार्न विद्युत् प्राधिकरणले एकदम आलटाल गरेको छ,’ योजना कार्यालयका एक इन्जिनियरले भने, ‘जसले गर्दा त्यो ठाउँमा काम गर्न समस्या भएको छ ।’ यसको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामाले जेभीमा लिएका हुन् । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्ने भए पनि नसकिएपछि म्याद थप गरी सकिएको छ ।
तेस्रो खण्डमा पर्छ, मलेखु–मुग्लिन खण्ड । यस खण्डको प्रगति एकदमै न्यून छ । निर्माणको कामले गति लिन सकेको छैन । यस खण्डको दूरी ३८.८६ किमि र निर्माण प्रगति ३५ प्रतिशत मात्र छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएका हुन् । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार २०८२ पुस भित्र काम सक्नुपर्ने हो । निर्माण सामाग्री अभावले गर्दा समस्या कामको प्रगति बढाउन भएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले बताइन् ।
‘अहिले ५ किमि खण्डलाई पुग्ने निर्माण सामाग्रि मात्र मौज्दात छ, थप जोहो गर्ने काम हुँदै छ, तर समस्या भइरहेको छ,’ उनले भनिन, ‘मलेखुको लामाबगरबाट निर्माण सामाग्री निकाल्न वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गरिएको थियो, तर त्यहाँबाट निर्माण सामाग्री निकाल्न पाइएको छैन ।’ जसले गर्दा निर्माण सामाग्री अभावमा प्रगति बढाउन नसकिएको उनको गुनासो छ । खोलाको बहाव घट्नसाथ निर्माण सामाग्री निकाल्ने तयारीमा रहेको र यसकालागि सम्बन्धित स्थानीय पालिकाहरुसंग छलफल गरिरहेको उनको भनाइ छ ।
अहिलेसम्म उक्त खण्डमा ८.१ किमि चार लेन सडकमा कालोपत्र भएको छ । ‘यस खण्डमा भौगोलिक अवस्थाले गर्दा कतै दुई, कतै तीन र कतै चार लेन सडक बनिरहेको छ,’ उनले भनिन, ‘अहिलेसम्म बेनिघाट, फिस्लिङ, कुरिनटार लगायत बजार खण्डमा बढी कालोपत्र भएको छ ।’
चालु आवमा ३८.८६ किमि मध्ये २० किमि सडक कालोपत्र गर्ने लक्ष्य योजना कार्यालयको छ । ६ वटा पुलमध्ये चार वटाको निर्माण सकिएको छ । ‘यस खण्डको म्याद पुसमा सकिँदै छ,’ उनले भनिन, ‘काम नसकिने भएपछि निर्माण व्यवसायीले म्याद थपको माग गरेका छन्, यो छलफलका क्रममै छ ।’ दोस्रो तहको कालोपत्रको काम पनि हप्ता दिन भित्र थाल्ने तयारी भइरहेको उनको भनाइ छ ।
‘जेन–जी आन्दोलनका बेला यस खण्डमा पर्ने असपाल्ट प्लान्ट र क्रसरमा क्षति पुगेको थियो,’ उनले भनिन, ‘भारतबाट प्राविधिक ल्याएर मर्मत गर्न तीन महिना लाग्यो, मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।’ यसले गर्दा पनि काममा ढिलाइ भएको उनको भनाइ छ ।
– विमल खतिवडा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










