12/04/2025, 14:49:55
बिहिबार, मङि्सर १८, २०८२

सहज कमाइको प्रलोभन देखाएर सयौंलाई ठगी


पाँचथर, १७ मङ्सिर : फिदिम नगरपालिका–४ का राजु खतिवडालाई झापाको बिर्तामोडमा रहेका आफन्तले थोरै लगानी गर्दा राम्रै आम्दानी हुने भन्दै एउटा अनलाइन एप्लिकेसन (एप) मा जोडिन आग्रह गरे ।

ती आफन्तले भने अनुसार नै दैनिक खातामा रकम आउन थालेपछि २०–२२ जनालाई टिममा सदस्य बनाएर काम गरे । धेरै समयपछि एपका एड्मिनहरूले शंकास्पद गतिविधि र चालचलन फेर्न थालेपछि उनले बल्ल ठगीमा परेकाे आशंका गरे ।

नेपालबाट गरिबी उन्मूलन गर्ने भन्दै एसएमसी नामक माेबाइल एप्लिकेसनका माध्यमबाट करोडौं रुपैयाँ ठगी भएको पाइएको छ । पाँचथरमा स्मार्ट मनी कन्सेफ्ट (एसएमसी) नामकाे उक्त एप्लिकेसनमार्फत सदरमुकाम फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाबाट मात्रै झन्डै ३० करोड रुपैयाँ बढी ठगी भएको अनुमान छ ।

नेपालमा कहीँकतै दर्ता नभएको उक्त एपमार्फत गत जेठदेखि कात्तिकसम्म ६ महिना अवधिमा सयौं व्यक्तिबाट हजारौं रुपैयाँका दरले ठगी गरेको पाइएको हो । एप सञ्चालकहरूले भारतमा दर्ता भएर १४ वर्षदेखि कम्पनी सक्रिय रहेको आधिकारिक नेटवर्किङ बिजनेस नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढिरहेको भन्दै झुक्याएका हुन् ।

साथीभाइ, आफन्त र चिनाजानका मानिसमार्फत म्यासेन्जर र ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट सन्देश पठाउँदै ठगीको सञ्जालमा आबद्व गराएर रकम कुम्ल्याउन सफल भएको ठगीमा परेकाहरू बताउँछन् ।  सुरुमा दैनिक खातामा पैसा जम्मा गरिदिएर आकर्षित गर्दै आफूबाट पनि एक लाख बढी रकम ठगेको खतिवडाले बताए । ‘नेपालमा चरम गरिबी छ यसलाई जरैदेखि निर्मूल पार्नुपर्छ, त्यसका लागि थोरै लगानी गरेर राम्रो रिर्टन लिन सकिन्छ भनेर झुक्काए, होला नि त भनेर आबद्व भई साथीभाइलाई पनि जोडेँ अन्त्यमा ठगीमा परियो,’ खतिवडाले भने ।

Hundreds of people were cheated by the lure of easy money.

उनका अनुसार यसमा आबद्ध हुन एक व्यक्तिले न्यूनतम ३ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्म लगानी गर्ने सक्ने प्रावधान थियो । एड्मिनहरूले जति धेरै लगानी उतिधेरै प्रतिफल भन्दै नागरिकलाई नेटवर्कमा आबद्व गराउँथे । जस्मा ३ हजार रुपैयाँ लगानी गर्नेलाई ‘के १’, ९ हजार ९ सय लगानी गर्नेलाई ‘के २’, ३३ हजार लगानी गर्नेलाई ‘के ३’, १ लाख १० हजार लगानी गर्नेलाई ‘के ४’ र ३ लाख रुपैयाँ लगानी गर्नेलाई ‘के ५’ को श्रेणीमा राखिन्थ्यो ।

लगानी गर्नासाथ एडमिनले दैनिक भिडियो पठाउने र भिडियो हेरेबापत एप्लिकेसनमा कनेक्ट भएको बैंक खातामा प्रति भिडियो २० देखि १ सय ९० रुपैयाँसम्म भुक्तानी दिन्थे । आफू सदस्य बनेर अरुलाई जोडेबापत एजेन्टले पाउने बोनस पनि उत्तिकै आकर्षक थियो । जसमा ३३ हजार रुपैयाँ लगानी गरे नयाँ सदस्य जोडिए तिनलाई जोड्ने एजेन्टले ११ हजार र ३ लाख लगानी बनाउने सदस्य थप्दा १ लाख रुपैयाँ कमिसन दिन्थे ।

आफ्नो नेटवर्कमा जति धेरै सदस्य थप्यो उनीहरूले जम्मा गरेको रकमको निश्चित प्रतिशत कमिसन उपलब्ध गराउने प्रलोभनमा परेर पाँचथरबाट ६ महिनाको अवधिमा मात्रै झन्डै ५ हजार जनालाई आबद्व गराएको पाइएको छ । उनीहरूबाट झन्डै ३० करोड रुपैयाँ ठगी गरेको हुन सक्ने पीडितहरू सुनाँउछन् ।

एप्लिकेसनका एडमिनले सदस्यहरूलाई क्यूआर पठाएर पैसा हाल्न लगाउने गरेका थिए । क्यूआर स्क्यान गर्दा नेपालीहरूकै नाम र ठेगानासँगै नेपालकै बैंककाे विवरण आउने गरेकाले ठगीमा नपर्ने विश्वाससहित लगानी गरेको खतिवडा बताँउछन् ।

एउटै वडाबाट ६ करोड ठगी

प्रलोभनमा परेर फालेलुङ गाउँपालिकाबाट मात्रै लगभग २ सय जनाबाट ६ करोडभन्दा बढी ठगिएको पाइएको छ । जहाँका शिक्षक, विद्यार्थी, कर्मचारी, राजनीतिक क्षेत्रका अगुवा र केही सर्वसाधारणसमेत प्रलोभनमा परेर ठगिएका छन् । राम्रो प्रतिफल पाइने आशामा यहाँ एउटै परिवारका दुईदेखि ७ जना सम्मले रकम जम्मा गरेको पाइएको छ ।
सबैभन्दा मिल्ने साथीले आग्रह गरेपछि ३३ हजार रुपैयाँ लगानी गरेँ, दैनिक १५ वटा भिडियो आउँथे, ती हेरेबापत प्रतिभिडियो ७६ रुपैयाँका दरले पैसा पाइन्थ्यो, एक महिनासम्म दैनिक पैसा दियो, आफूमूनि नयाँ सदस्य थप्दा लगानीको अवस्था हेरेर बोनस पनि राम्रै दिन्थ्यो,’ फालेलुङ–२ मै व्यवसाय गरिरहेका एक व्यापारीले भने, ‘विश्वास गरेर परिवारका ४ जनाका नाममा १ लाख १० हजार रुपैयाँका दरले लगानी थप्यौं, नियम परिवर्तन भएको भन्दै अब मासिक रुपमा मात्रै भुक्तानी आउँछ भनियो, पछिल्लो समय एप्लिकेसन निष्क्रिया बनाएर एडमिनहरू सम्पर्कविहीन छन् ।

Hundreds of people were cheated by the lure of easy money.

एप्लिकेसनको एडमिनमा विदेशी जस्तो नाम सुनिने लुसी, कोइवे र अन्ना नामकासहित केही नेपाली पनि सक्रिय थिए । उनीहरूले प्रयोग गरेको ह्वाट्सएपमा क्यानडा र सान फ्रान्सिसकोलगायत देशका नम्बर राखिएको थियो । अनलाइन गर्नेको सूचीमा एडमिन रहेकी लुसी नामकी महिलाले कात्तिक ३० गते ह्वाट्सएप ग्रुपमा अन्तिम सन्देश लेख्दै लगानीकर्तालाई उल्टै व्यंग्य गर्दै एप्लिकेसन निष्क्रिय गरेकी छन् ।

सबैलाई नमस्कार, म तपाईंहरूको भर्ती प्रबन्धक हुँ, हरेकको बुद्धि र उसको सम्पत्ति एक अर्कासँग मिल्छ तर तपाईंहरूको सम्पत्ति र बुद्धि मिलेन, त्यसैले म तपाईंहरूलाई मिलाइदिन चाहन्छु, म त तपाईंहरूको बुद्धिसँग नबज्ने र तपाईंहरूको हुन नहुने सम्पत्ति मात्र लिएकी हुँ, म आशा गर्छु कि तपाईंहरूले मलाई धन्यवाद दिनुहुनेछ, कृतज्ञता प्रकट गर्नुहुनेछ र मैले दिएको यो पाठ तपाईंहरूले जीवनभर सम्झनु हुनेछ’ उनले लेखेकी छन् ।

उनले यो सन्देश लेखे लगत्तै कात्तिक २९ गतेदेखि एसएमसी वालेट निष्क्रिय भएको छ । एडमिन प्यानलमा देखिएका नेपालीहरूलाई म्यासेज गर्दा रेस्पोन्स आउन छोडेको छ । ‘कानुनी प्रक्रियामा जाने कुरा गर्दा जतिसुकै मिहनेत गरे पनि केही नलाग्ने जवाफ मात्रै फर्काउँछन्,’ ठगीमा परेकाहरू भन्छन् ।

ठगी गर्ने एसएमसीका सञ्चालकहरूले सार्वजनिक गरेका वेबसाइट एसएमसीसीओयुएस९९ डटकमएसएमसीसीओयुएस७९ डटकमका डोमेन करिब ६ महिनाअघि मात्रै दर्ता भएको देखिन्छ । उनीहरूले भुक्तानी गर्न भन्दै सदस्यलाई पठाएका क्यूआरमा प्रत्येक पटक फरक फरक नाम आउँथ्यो ।

फालेलुङ–२ कै विजय राईका अनुसार एप्लिकेसनमा झन्डै पाँच सय समूह थिए । प्रत्येक समूहमा तीन सयदेखि आठ सय जनासम्म सदस्य देख्न सकिन्थ्यो । ‘त्यहाँ नेपालको कोशीदेखि सुदूरपश्चिमका जिल्लाबाट सहभागी भएको देखिन्थ्यो । प्रत्येक व्यक्तिले न्यूनतम ३ हजारदेखि अधिकतम तीन लाख रुपैयाँ लगानी गरेर सदस्य बनेका हुन् । ‘पैसा नतिरेकालाई एडमिनले एप्लिकेसनमा एक्सेस नै दिँदैनथे,’ राईले भने ।

आफूले परिवार र आफन्त गरी ७ जनाका नाममा ३३ हजार रुपैयाँका दरले पैसा जम्मा गर्नुका साथै ३५ जना साथीभाइ र नातेदारलाई आबद्ध गराएको राईले बताए । ‘सुरुवातमा केही रकम खातामा आएपछि विश्वास गरेर आफू, परिवार, छोराछोरी, नातागोता र साथीभाइ सबैलाई आबद्ध गराए । पैसा नै छैन भन्नेहरूलाई त्यहीँबाट कमाएर तिर्नु भन्दै आफैं लगानीसमेत गरिदिए,’ उनले थपे ।

अलैंची बेचेको रकम डुब्यो

फालेलुङ गाउँपालिका–२ एकतिन जहाँ अलैंचीसहितका नगदे बाली राम्रो उत्पादन हुन्छ । योबेला यहाँ अलैंची बिक्रीको सिजन चलिरहेको छ । किसान र व्यापारीले अलैंची बेचेको रकमसमेत एसएमसीमा लगानी गरेको खुलेको छ । ‘परिवारका चार जना सदस्यका नाममा १ लाख ३३ हजारका दरले लगानी गरियो, आखिर न रहृयो बाँस न बज्यो बाँसुरी,’ चार मन अलैंची बेचेर एसएमसीमा लगानी गरेका एक भुक्तभोगीले भने ।

उपहार र करका नाममा पनि ठगी

सुरुवाती चरणमा मान्छे लोभ्याउन खातामा रकम जम्मा गरिदिएका एसएमसी एप सञ्चालकले करिब एक महिनापछि साप्ताहिक, त्यसपछि पाक्षिक र तीन महिनापछि प्रत्येक महिनाको ५ तारेखमा भुक्तानी पठाउने भन्दै सूचना गर्न थालेका थिए । यद्यपि वालेटमा भने आफुले पाउने रकम हेर्न सकिन्थ्यो, त्यस बीचमा उनीहरूले केही ग्राहकलाई कार त केहीलाई सुनको औंठी परेको भन्दै झुक्काएका थिए । कार परेकाहरूलाई पायक परेका ठाउँमा पठाइदिने त औंठी परेको भनिएकालाई घरैमा डेलिभरी गरिदिने भन्दै मख्ख पारेको पनि ठगिएकाहरू सुनाउँछन् । मासिक रुपमा मात्रै भुक्तानी दिने गरी नियम परिवर्तन भएको भनिएका ग्राहकका वालेटमा आकर्षक रकम जम्मा भएको देखाएर उक्त रकम भुक्तानीका लागि आयकर गम्मा गर्नुपर्ने भन्दै अर्को ठगी गरेको अर्का पीडित अञ्जु राई बताउँछिन् ।

उनका अनुसार एसएमसी वालेटमा एक लाख जम्मा भएको देखाएर कर तिर्नुपर्छ भन्दै वालेटमा देखाइएको रकमको २५ प्रतिशत पुनः तिर्न लगाएर दोस्रो पटक ठगी गरेका थिए । करबापत जम्मा गर्न भनिएको रकम पठाएपछि भने उल्टै वालेट र ग्रुपबाट हटाइन्थ्यो ।

Hundreds of people were cheated by the lure of easy money.

राम्रो व्यवसाय गरे बापत कार र सुनको औंठी उपहार परेको भनिएकालाई चितवनबाट पायक पर्ने ठाउँमा पठाइदिन्छौं भन्दै त केहीलाई समय मिलाएर लिन आउनु भन्दै झुक्याइएको अञ्जुले बताइन् । फिदिम–६ का गणेश तुम्रोकले समाजमा राम्रो प्रतिष्ठा कमाएका जनप्रतिनिधि, अधिकृत स्तरका कर्मचारी र विश्वसनीय व्यक्तिले पटकपटक आग्रह गरेपछि ‘साथीभाइको मन’ राख्न केही रकम लगानी गरेको सुनाए । उनका अनुसार एसएमसीमा जिम्मेवार राजनीतिक दलका नेता, कार्यकर्तासँगै जनप्रतिनिधि, कर्मचारी, व्यापारी र शिक्षकसम्म फसेका छन् ।

प्रहरी भन्छ : ‘धेरै फसेका छन्, उजुरी गर्दैनन्’

नेपाल प्रहरीको साइबर ब्युरोले कात्तिक २९ गते सार्वजनिक सूचना जारी गर्दै एसएमसी एपमार्फत छिटो पैसा कमाउन सकिने प्रलोभन देखाएर ठगी गर्ने समूह सक्रिय रहेको भन्दै सचेत रहन सार्वजनिक सूचना जारी गर्‍यो । तर साइबर ब्युरोको यो सूचना सार्वजनिक भइसक्दा एसएमसीको वालेट पनि निष्क्रिय भइसकेको थियो ।

त्यति बेलासम्म पाँचथरमा मात्रै ५ हजारभन्दा धेरै जना यो सञ्जालमा आबद्ध भइसकेको संलग्नहरू बताउँछन् । पाँचथरबाहेक नेपालका अन्य जिल्लाबाट पनि हजारौं मानिस वालेटमा जोडिएका थिए । पाँचथर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शुभराज थापा आकर्षक कमाईको प्रलोभन देखाएर सुरुमा भने अनुसारकै रकम भुक्तानी गर्दै ठगी गरेको बताउँछन् ।

फालेलुङ–२ का नीरबहादुर गुरागाईँका अनुसार उक्त नेटवर्कमा आबद्ध भएकामध्ये अधिकांशले आफ्नो बढुवा हुने, मासिक बोनस वृद्धि हुने र आकर्षक पारिश्रमिक पाउने भन्दै पटकपटक अनुरोध गरेपछि धेरैले साथीभाइको मन राख्नै मात्रै पनि लगानी गरेका पाइएको छ । ‘अपांगता भएका छिमेकीले आफ्नो पदोन्नति हुने भन्दै सदस्य बनिदिन आग्रह गरेपछि मैले पनि केही रकम फसाए, त्यो जुवा खेले सरह भयो,’ उनले भने ।

यो एप्लिकेसनबाट ठगीमा परेको अहिलेसम्म उजुरी नआएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिशकुमार कर्णले बताए । ‘हाम्रो नोटिसमा डिजिटल एपमार्फत ठूलो परिमाणको रकम अवैध रुपमा भुक्तानी भएको छ, तर कोही पनि उजुरी लिएर आउनु भएको छैन, गैरकानुनी कारोबारमा संलग्न भएका कारण आफैंमा अप्ठेरो भएर पनि उजुरी नआएको हुन सक्छ,’ उनले भने, ‘कोही पीडित उजुरी लिएर आए सञ्जालका सबै जना तानिने भयले उजुरी नआएको हुन सक्छ । प्रहरीले सचेत गराउँदा गराउँदै ठगीमा पर्नुहुन्छ त हामीले के गर्ने ?

एसएमसी ठगीको जालोमा सर्वसाधारण, व्यापारी, कर्मचारी, जनप्रतिनिधि हुँदै बैंकर र विभिन्न व्यापारिक प्रतिष्ठानको मार्केटिङमा काम गर्ने मानिस सर्वाधिक संख्यामा फसेको प्रहरीको अनुमान छ । सबै सर्वसाधारणले क्यूआर गरेको पैसा व्यक्तिकै खातामा गएको देखिएकाले यो कोणबाट अनुसन्धान गर्न सकिने उनले बताए । ‘प्रहरी पीडककहाँ पुग्न त सक्छ यद्यपि उजुरी नआए पछि कताबाट कसरी अनुसन्धान गर्ने ? आधार त चाहियो,’ डीएसपी कर्ण भन्छन् ।

– लक्ष्मी गौतम