11/11/2025, 14:02:39
मङ्गलबार, कार्तिक २५, २०८२

राष्ट्रपतिबाट मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त


काठमण्डौ, कात्तिक २५ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाउनुभएको छ । राष्ट्रपति पौडेलले आज भण्डारीलाई प्रदेश प्रमुखको पदबाट हटाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले भण्डारीलाई हटाउनुभएको हो । भण्डारीले हिजो बिहान एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । महोत्तरीको एक होटलमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएपछि विवाद सिर्जना भएको थियो ।

त्यसपछि हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त तथा पदमुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले शनिवार विश्वासको मत लिनेक्रममा मत विभाजन प्रकृया शुरु हुनुअगावै पदबाट राजीनामा दिनुभएको थियो । मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गर्दै सुरेन्द्रलाल लाभ कर्णलाई प्रदेश प्रमुखको रूपमा सिफारिश गरेको छ । प्रदेश प्रमुखमा सिफारिस कर्णले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँ २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्य बन्नुभएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..