11/05/2025, 17:19:09
बुधबार, कार्तिक २०, २०८२

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गोङ्गबुस्थित नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थानहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँ बसपार्क पुगेर सेवा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए । ‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ, यसलाई बिस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ’, सञ्चारमन्त्री खरेलले स्पष्ट पारे ।

सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्ने क्रममा काम गरिरहेको जानकारी दिँदै उनले भने, ‘दार्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्‍याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ ।’ 

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए ।

सञ्चार सचिव राधिका अर्यालले सूचना प्रविधिको क्षेत्रमा भएको विकास, स्रोतसाधन र सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी देशभर इन्टरनेटको क्षमता विस्तार गर्ने बताइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सञ्चार मन्त्रालयको निर्देशनअनुसार नयाँ बसपार्क, काठमाडौँस्थित विभिन्न ठुला अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थल लगातयका संवेदनशील एवं महत्त्वपूर्ण स्थलहरूमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गरिएको जानकारी दिए ।

नयाँ बसपार्कस्थित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले निःशुल्क इन्टरनेट सेवा सुरु भएसँगै नयाँ बसपार्क आउने सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मत सम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको तथा तीन निर्माणाधीनसहित विभिन्न आठ स्थानमा नयाँ जडान गरिएको प्राधिकरणले जनाएको छ ।

यसैगरी  ठुलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ ।

सञ्चारमन्त्री खरेलको अग्रसरतासँगै अब नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क एवं प्रभावकारी रूपमा वाइफाइ सेवा सञ्चालन हुने भएको छ ।

निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वर्ल्ड लिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने भएका छन् ।

यसैबिच सञ्चारमन्त्री खरेल आजै इन्टरनेट सेवा सञ्चालनका क्रममा अनुगमन गर्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..