२८ असोज, सिड्नी (अष्ट्रेलिया) । नेपालसँगै अष्ट्रेलियामा पनि प्रर्दशनमा आएको फिल्म ‘छक्कापञ्जा ५’ले यहाँको बक्सअफिस कमाइमा नयाँ रेकर्ड राखेको छ । फिल्मको अष्ट्रेलियाली वितरण कम्पनी नमस्ते इन्टरटेनमेन्टले दीपाश्री निरौला निर्देशित कमेडी तथा सोसल ड्रामाले ४ दिनमा एक करोड रुपैयाँमाथि धेरै ब्यापार गरेको बताएको छ । कम्पनीका देव कार्कीले विहिबार, शुक्रबार, शनिबार र आइतबार फिल्मले उक्त कलेक्सन गरेको बताए । उनले अष्ट्रेलियामा चलेका नेपाली फिल्ममध्ये ‘छक्कापन्जा ५’ नै चार दिनमा यति धेरै ब्यापार गरेको पहिलो नेपाली फिल्म भएको दाबी गरे ।
कार्कीले आगामी साता फिल्मको ब्यापार अझै बढ्न सक्ने प्रक्षेपण गरे । ‘दशैंको चहलपहलमा ब्यस्त दर्शक सोमबारदेखी बाहिर निस्कन थालेका छन् । एकल रिलिजको अवसरले पनि फिल्मको ब्यापार अझै वृद्धि हुने देखिन्छ ।’ देव कार्की भन्छन् ।
यतिबेला अष्ट्रेलियामा यो फिल्मलाई हेर्न युवा दर्शकमात्र हैन, दशैं मनाउन र परिवार भेट्न अष्ट्रेलिया पुगेका अभिभावक पनि बाक्लै छन् । अभिभावकलाई लिएर सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा फिल्म हेर्न पुगेका विष्णुप्रसाद अर्यालको अनुभव यस्तो छ, ‘यो पारिवारिक अनि सरल र सबै परिबार बसेर हेर्न मिल्ने फिल्म भएकाले पनि अभिभावकलाई लिएर फिल्म हेर्न आएका थियौं, त्यही पायौं ।’
दीपाश्री निरौला निर्देशित यो फिल्मलाई आमा सरस्वती मूभिजले निर्माण गरेको हो । यो फिल्म अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ । मध्यपूर्वमा आउने सातादेखि रिलिज हुँदैछ । भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको यो फिल्ममा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका छ ।