दमौली (तनहुँ), कात्तिक १६ : यहाँको व्यास नगरपालिका १४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
यहाँ वार्षिक छ-सात लाख भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ । मन्दिरको गत वर्ष पुनर्निर्माण गरी आकर्षक बनाइएको छ ।
कोषका अध्यक्ष थापाका अनुसार गण्डकी प्रदेश सरकारको रु. २४ लाख आर्थिक सहयोग र छाब्दीबाराही विकास कोषको आन्तरिक कोषबाट रु. ४६ लाख गरी रु. ७० लाखको लागतमा मन्दिरको पुन:निर्माण गरिएको हो । मन्दिरमा शनिबारमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका छन् । दसैँ, तिहारका बेला मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने उहाँको भनाइ छ ।
साउन महिनाभरि, प्रत्येक महिनाको औँसी र एकादशीमा भने यहाँ पूजाआजा बन्द गरिने अध्यक्ष थापाले बताउनुभयो । “छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास छ । मन्दिर बाहिर खोलामा पनि हजारौँ माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा अन्जानमा गरिएका सबै पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ”, उहाँले भन्नुभयो ।

मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र औँसीबाहेकका दिनमा बली चढाइने अध्यक्ष थापाले जानकारी दिनुभयो । मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बलि दिइने चलन छ । मन्दिर परिसरमा पुरानो छाब्दीबाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मत्स्यगन्धाको मूर्ति आकर्षणका रूपमा छन् ।
मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण र फोहोरमैला व्यवस्थापनका सम्बन्धमा आवश्यक प्रवर्द्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।








