बाजुरा, कात्तिक ४ : जिल्लाको पूर्बीउत्तर क्षेत्रमा पर्ने रानीसैन पछिल्लो समय पर्यटकको गन्तब्यस्थल बन्दै गएको छ । चारैतिर हिउँको घुम्टोले सज्जिएको डाँडा र बिचमा समथल र निकै आकर्षित रहेको हिमाली गाउँपालिका –३ मा पर्ने रानीसैनमा पछिल्लो समय यहाँ आउनेगरेका आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्यस्थल बन्न पुगेको हो ।
रानीसैन घुम्न अहिले यहाँ जिल्ला तथा जिल्ला बाहिरदेखि पर्यटक आउनेगरेका छन् । बझाङको साईपाल र मानसरोवर जान रानीसैनबाट नजिक पर्छ । यहाँ बाह्रै महिना चिसो हुन्छ । यो निकै सुन्दर र आकर्षक स्थान मानिन्छ । चारैतिर अग्ला हिमाल, बिचमा समथल र सुन्दरताले भरिएको यो ठाउँमा रमाउन आउने गरेका आन्तरिक तथा बाह्य पर्यटकहरु निकै लाभान्वित हुने गरेका छन् ।

जिल्लाको मात्र नभइ यो देशकै एक उत्तम पर्यटकीयस्थलको रुपमा पनि लिन सकिन्छ । यो ठाउँमा अहिलेसम्म स्थानीय सरकार बाहेक अन्य कुनै सरकारको ध्यान पुगेको देखिदैन् ।
एक स्वर्गको टुक्राजस्तो देखिने रानीसैन पर्यटकका लागि निकै रमणीय ठाउँ मानिएको छ । रानीसैन पर्यटकका लागि निकै रमाइलो रहेको बुढीगङ्गा नगरपालिका –१० का युवा तथा समाजसेवि राजेन्द्र जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफु बाजुराकै भए पनि म यो ठाउँमा कहिल्यै पुगेको थिएन । यतिबेला यो ठाउँमा पुगेपछि मलाई त्यो ठाउँ स्वर्गकै टुक्रा महसुस भएको छ ।”
म बैशाखको टन्टलापुर घाममा त्यहाँ पुगेको हुँ । तर त्यहाँ हिउँ समेत पग्लेको थिएन । रानीसैनको चारै तिरको अग्ला डाँडामा बाक्लो हिउँ जमेकोले यसो हेर्दा ती डाँडा सेतो घुम्टोमा बेहुली सज्जिएजस्तै देखिन्छ, उहाँले भन्नुभयो ।

रानीसैनको संरक्षण प्रबर्धन गर्ने हो भने हिमाली गाउँपालिकाका स्थानीयलाई मात्र नभई यसले सिङ्गो जिल्लाबासीलाई समेत आर्थिक टेवा पुग्ने सम्भावना छ । अछामको साँफेबगरदेखि मार्तडीसम्म झण्डै ५७ किलोमिटर दूरी छ । त्यसपछि मार्तडीदेखि कोल्टी ४२ कोल्टीदेखि रानीसैनसम्म झण्डै ३५ किलोमिटरको दूरीमा पर्छ, रानीसैन ।
रानीसैन बाजुरा, हुम्ला र बझाङको बिचमा अवस्थित छ । यहाँ प्रत्येक वर्ष बाजुरा र हुम्लाका बौद्ध धर्मावलम्बीहरुको मेला लाग्छ । यहाँ ठुलो गुम्बा छ । यसको व्यवस्थापनका लागि हिमाली गाउँपालिकाले प्रत्येक वर्ष दुई लाख रुपियाँ छुट्याउने गरेको छ ।

यो ठाउँ झन्डै चार हजार चार सयदेखि पाँच हजार मिटरको उचाइमा छ । यहाँ चारैतिर ठुला हिमाल छन् । ती हिमालको फेदीमा रानीसैन छ । यसलाई बाजुराको उपत्यका पनि भनिन्छ । चारैतिर डाँडा अर्थात् सेता हिमाल र त्यसमुनि फैलिएको रानीसैन समथल छ ।
यो ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने हो भने जसरी राराले मुगुलाई चिनाउँछ, त्यसै गरेर रानीसैनले पनि बाजुरालाई चिनाउन सक्ने हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।

पहिले त्यहाँ पुग्ने बाटो थिएन । पछिल्लो समय यहाँको हिमाली गाउँपालिकाले यहाँ जाने गोरेटो बाटो निर्माण गरेसँगै अहिले यो ठाउँमा पर्यटकको चहलपहल बढ्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सके यहाँका बासिन्दाको आयआर्जनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।
– शेरबहादुर सार्की