वासिङ्टन, असोज ३१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई स्वागत गर्न लाग्नुभएको छ । तर उहाँले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने सम्भावना न्यून रहेको सङ्केत गर्नुभएको छ । युक्रेनी पक्षले ती मिसाइलहरूलाई आफ्नो रक्षा र प्रतिआक्रमणका लागि अत्यावश्यक बताउँदै आएको छ ।
जेलेन्स्की र ट्रम्पबीचको यो भेट ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको लामो टेलिफोन वार्ताको भोलिपल्ट हुँदैछ । सो वार्तामा दुवै नेताले युक्रेन युद्धबारे विस्तृत छलफल गर्नुभएको थियो । हालसम्म ट्रम्पले युक्रेनलाई टोमहाक मिसाइल बिक्री गर्ने सम्भावनाप्रति खुलापन देखाउनुभएको थियो तर पुटिनले यस्तो कदमले अमेरिका–रूस सम्बन्धमा गम्भीर तनाव ल्याउने चेतावनी दिनुभएको थियो ।
पुटिनसँगको संवादपछि भने ट्रम्पको धारणा बदलिएको देखिएको छ । लगभग एक हजार ६०० किलोमिटर (९९५ माइल) दूरीसम्म मार गर्नसक्ने यी मिसाइलहरू युक्रेनले मागिरहेको भए पनि ट्रम्पले त्यसबारे सङ्केत गर्दै भन्नुभएको छ, “हामीलाई पनि टोमहाक चाहिन्छ । हाम्रो देशलाई कमजोर बनाउने गरी हामी आफ्नै आवश्यक हतियारहरू बाँड्न सक्दैनौँ ।”
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी भूमिमा गहिरो आक्रमण गर्न र प्रमुख सैन्य स्थल, ऊर्जाकेन्द्र र पूर्वाधारमा प्रहार गर्न यी मिसाइलहरूको आवश्यकता रहेको बताउँदै आउनुभएको छ । यस्तो क्षमता प्राप्त भएमा पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्तातर्फ धकेल्न सकिनेछ भन्ने उहाँको विश्वास छ— जुन ट्रम्प स्वयंले पनि प्राथमिक कूटनीतिक लक्ष्यको रूपमा अघि सार्नुभएको छ ।
तर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई ‘किएभलाई टोमहाक आपूर्ति गर्दा युद्धको गतिमा परिवर्तन त आउने छैन, तर अमेरिका–रूस सम्बन्धमा गहिरो क्षति हुनेछ’ भनी चेतावनी दिनुभएको छ ।
ट्रम्प र जेलेन्स्कीबीच जनवरीमा ट्रम्प पुनः राष्ट्रपतिमा फर्केपछि यो चौथो भेट हो र एक महिनाभित्र दोस्रो प्रत्यक्ष भेटसमेत हो ।
बिहीबार पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले छिट्टै हङ्गेरीको बुडापेस्टमा रूसी नेतासँग प्रत्यक्ष भेट गरी ‘युद्ध अन्त्यका सम्भावित उपायहरू’ बारे छलफल गर्ने घोषणा गर्नुभएको छ । साथै, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पुटिनका वरिष्ठ सल्लाहकारहरू पनि अर्को हप्ता अनिर्दिष्ट स्थानमा भेट्ने सहमति भएको छ ।
इजरायल र हमासबीचको युद्धविराम र बन्धक सम्झौताको मध्यस्थता गर्दै आउनुभएका ट्रम्प अहिले युक्रेन युद्ध अन्त्यलाई आफ्नो प्रमुख विदेश नीति प्राथमिकता बनाउँदै हुनुहुन्छ । उहाँले यस उद्देश्यमा ‘नयाँ विश्वास र अवसर’ देखिएको बताउनुभएको छ ।
तर पछिल्ला केही हप्तादेखि ट्रम्पको पुटिनप्रतिको धैर्य कम हुँदै गएको देखिन्छ । गत महिना उहाँले युक्रेनले रूसले कब्जा गरेका क्षेत्रहरू फिर्ता जित्न सक्छ भनी घोषणा गर्नुभएको थियो । यो अघिल्लो नीतिबाट ठुलो परिवर्तन थियो । उहाँले यसअघि किएभलाई ‘कुनै सम्झौतामार्फत युद्ध अन्त्य गर्न’ आग्रह गर्दै आउनुभएको थियो ।
सन् २०२४ को चुनावी अभियानताका ट्रम्पले आफूले सत्ता सम्हालेपछि ‘छिट्टै युद्ध अन्त्य गर्ने’ वाचा गर्नुभएको थियो । तर यस वर्ष अगस्टमा अलास्कामा पुटिनसँगको शिखर सम्मेलन र त्यसपछि ह्वाइट हाउसमा जेलेन्स्की तथा युरोपेली सहयोगीहरूसँगको बैठकपछि उहाँको शान्ति प्रयास अस्थायी रूपमा अवरुद्ध भएको देखिएको छ ।
तथापि, ट्रम्प अझै पनि जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ताको सम्भावना जीवित रहेकोमा विश्वास राख्दै हुनुहुन्छ । उहाँले भन्नुभएको छ, “पुटिन र जेलेन्स्कीबीच राम्रो सम्बन्ध छैन, त्यसैले हामीले सम्भवतः उहाँहरूलाई अप्रत्यक्ष वार्ताका माध्यमबाट नजिक ल्याउन सक्नेछौँ ।”
उहाँले भन्नुभयो, “जहाँ उहाँहरू अलग हुनुहुन्छ, हामी त्यहीँ केही गर्न सक्छौँ — अलग तर समान प्रयास ।”