काठमाडौँ, असोज ३० : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नियमित अधिवेशनको मिति तय गर्नेबारे छलफल भएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सो जानकारी दिनुभयो।
प्रवक्ता डा. महतले भन्नुभयो, “अधिवेशन चाँडोभन्दा चाँडो कसरी गर्न सकिन्छ, त्यो व्यवहारिक पनि होस्। गर्न सक्ने पनि होस्, सबैको सहभागीता पनि सुनिश्चित होस्। विधि, प्रक्रिया पनि राम्रोसँग फलो गरियोस्, त्यस किसिमबाट अधिवेशन कहिलेसम्म गर्न सकिन्छ केन्द्रीय समितिबाट निर्णय लिनुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभएको छ।”
उहाँले आजको बैठकमा डा. शेखर कोइराला सहित सात जना केन्द्रीय सदस्यले आ–आफ्नो राय राख्नुभएको जानकारी दिनुभयो। उहाँका अनुसार असोज २८ गते बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले देश, पार्टीलाई जोड्ने महत्त्वपूर्ण सम्बोधन गर्नुभएको र बैठकले सभापति देउवाको मार्ग निर्देशनलाई मध्यनजर गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “पार्टी सभापतिले असोज २८ गते जुन सम्बोधन गर्नुभयो केन्द्रीय समितिलाई अत्यन्त महत्त्वपूर्ण कुरा बोल्नुभएको छ। पार्टीलाई, देशलाई जोड्ने किसिमको कुरा राख्नुभएको छ। त्यसप्रति केन्द्रीय समितिले आभार व्यक्त गरेको छ। उहाँको मार्गनिर्देशनलाई मध्यनजर राखेर अगाडि बढ्ने कुरा निर्णय भएको छ।”
समग्रमा गत भदौ २३ र २४ गतेको घटना र त्यसबाट नवयुवा हताहत एवम् दुखद् परिस्थिती निर्माण भएको र यसले राष्ट्रिय सम्पत्ति, व्यक्तिगत सम्पत्ति, व्यापार, व्यवसाय, नेताको घर तोडफोड, आक्रमण, आगजनी लगायतका घटनाले ठुलो क्षति पुर्याएको धारणा केन्द्रीय सदस्यहरुले राखेको उहाँको भनाइ छ।
उहाँले बैठक पुनः भोलि बिहान ११ बजे बस्ने जानकारी दिनुभयो।