10/06/2025, 11:38:40
सोमबार, असोज २०, २०८२

लगातारको वर्षाले बाढी र डुबान मधेशका अधिकांश भाग जलमग्न


जनकपुरधाम, असोज २० : शुक्रबार रातिदेखिको अविरल वर्षाले मधेश प्रदेशको जनजीवन नराम्ररी प्रभावित भएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर रौतहटमा तीन जना र डुबेर एक जना गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् । स्थानीय प्रशासनले राहत र उद्धारको कार्यलाई तीव्रता दिएको छ ।

धनुषाको जनकपुरधाम कमला सडकखण्डको पर्वाहामा जमुनी नदीको पानी सडक भएर बग्न थालेपछि नागरिकलाई आवतजावतमा समस्या भएको छ । त्यसै गरी झिटकहियादेखि पौडेश्वर जाने बाटोमा रहेको जमुनी नदीको पुलको दुवैपट्टि सडक भासिएपछि अवागमन ठप्प छ । जनकपुरधामको बल्वाटोल सहितको बस्ती डुबानमा परेको छ । कमला नदीमा आइतबार बिहानदेखि भने जलस्तर घट्दै गएकाले खतरामुक्त रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

महोत्तरीको जलेश्वरमा बाढी पस्दा सडक जलमग्न भएको छ भने केही घर डुबानमा परेका छन् । जिल्लाका रातो, जग्हा, माढा, बिग्ही, गेरुकी, कुटमेश्वरी लगायतका नदीमा जलस्तर बढेको छ । रातो नदीको रतवारामा २० मिटर बाँध कटान भएको छ भने जलेश्वर नगरपालिका वडा नं. ३ को धवौलीमा सशस्त्र प्रहरी चेक पोस्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरिएको छ । रतवाराको तटबन्ध कटानले पानी सदरमुकाम जलेश्वर प्रवेश गरेको छ । जसको कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र तथा जलेश्वरको अस्पताल चोक डुबानमा परेका छन् । धवौलीमा काटिएको तटबन्धको पानी सोही वडाको खैरातर्फ सोझिएको छ ।

जलेश्वरमा बाढी पसेको र ढल जामको समस्याले दुई फिटभन्दा बढी पानी जमेको जलेश्वर नगरपालिका वडा नं. २ का युवा मुकेश पासवानले बताउनुभयो । एकडारा गाउँपालिका–६, बगेयामा तटबन्ध भत्किँदा एकडारा गाउँमा पानी पसेको छ । औरही नगरपालिका–२ मा समेत १५ वटा घरमा क्षति पुगेको स्थानीय युवा प्रेम बाबु यदुवंशीले जानकारी दिनुभयो । बलवा नगरपालिकाको बस्तीमा बाढी पसेपछि सुरक्षाकर्मीले स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा पु-याएका छन् । मटिहानी नगरपालिकाको वडा नं. ९, सिमरदही बस्तीमा समेत पानी पसेको छ ।

आधा दर्जन बाँध भत्किए

महोत्तरीको रातु नदीको बाँध आधा दर्जन ठाउँमा भत्किएपछि सदरमुकाम जलेश्वर लगायतको जिल्लाको मुख्य बजार क्षेत्र बाढीको उच्च जोखिममा परेका छन् । बाढीको पानी पसेर औरही नगरपालिका–२ मा करिब १५ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने सीमावर्ती बजार भिठामोड पनि डुबानमा परेको छ । प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार रातु नदीमा पानी बढिरहेको र बाँध भत्किएपछि जलेश्वरलगायतका स्थान असुरक्षित बनेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

महोत्तरीको भङ्गाहा नगरपालिका–५ अन्तर्गत जमुनिया क्षेत्रमा आएको आकस्मिक बाढीले बगाएको नेपाल टेलिकमको जिपलाई सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताउनुभयो । जिपका चालकलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा गरी २५० घरपरिवार डुबानमा परेका छन् । खाँडो नदीमा आएको बाढीले बाँधमा रेनकट लागेको छ भने दुई वटा घर खसेको छ । सप्तकोशी नगरपालिका–६, बोचहीमा त्रियुगा नदीको बाढी पस्दा त्यहाँका ६० घरपरिवार डुबानमा परेको छ । डुबानमा परेकामध्ये अतिप्रभावित छ घरपरिवारलाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदीमा आएको बाढी तटबन्धमाथि बगेर बोचही बस्तीमा पसेको छ ।

यसै गरी तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुराको ७५ घरमा पानी पसेको छ भने दुई सयभन्दा बढी घरपरिवार प्रभावित भएको पालिकाका विपत् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

जिता नदीमा आएको बाढी वडा नं. ७ को सरदार टोलमा पस्दा १८ घर प्रभावित भएका छन् । वडा नं. २ मा एउटा घर र वडा नं. ४ रामटोलमा एउटा घर खसेको छ । स्थानीय विद्यालयमा पनि पानी पसेको छ । यसै गरी पालिकाको वडा नं. ५, कोइलाडी बर्साइनमा करिब दुई घरपरिवार वर्षाबाट प्रभावित भएको वडाध्यक्ष ललन राउतले जानकारी दिनुभयो । तिलाठी कोइलाडी जिता, खाँडो र महुली नदीको बाढीबाट बर्सेनि डुबानमा पर्दै आएको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सुरक्षा निकायका टोली, स्थानीय पालिका सव्रिmय रूपमा लागेको छ ।

बर्दीबासमा डेढ सय घर डुबान

बर्दीबास नगरपालिकाको विभिन्न वडामा डेढ सयभन्दा बढी घर डुबानमा परेका छन् । बर्दीबास–१४ नम्बरमा गणेश हमाल र बालकुमारी हमालको घर खसेको छ । ठाउँ ठाउँमा विद्युत् पोल खस्नाले शनिबारदेखि विद्युत् प्रसारण ठप्प छ । बर्दीबास नगरप्रमुख प्रह्लाद क्षेत्रीका अनुसार नगरका चार वटा वडामा ४० घर डुबानमा परेका छन् । जसमध्ये वडा नं. ८, खजुरियामा भवसी खोलाको बाढी पसेर १२ घर डुबानमा छ । त्यस्तै वडा नं. १२ को चल्की बिजलपुरामा १० घर, वडा नं. १३, भेडिहर टोलमा पाँच घर, बर्दीबास–१४, हमाल टोल र भुजेल टोलमा गरी आठ घर डुबानमा परेको छ । वडा नं. ८ कै करमटोकीमा भवसी खोलाले सिँचाइ तटबन्ध भत्काउँदा धानखेतमा क्षति पुगेको छ भने गाउँ बाढीको जोखिममा परेको छ । नगरप्रमुख क्षेत्रीका अनुसार डुबानमा परेका २, १३ र १४ नं. वडाको तीन वटा डोजर परिचालन गरी पानी तर्काउन काम भइरहेको छ । क्षतिको विवरण सङ्कलन र उद्धारका लागि जनशक्ति परिचालन गरिएको छ ।

वर्षा र डुबान प्रभावितमध्ये बर्दीबासका १२ परिवारलाई स्थानीय रामजानकी धर्मशाला र बिजलपुराका करिब २० परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । वडा नं. ६ र ७ किसाननगरमा सबैभन्दा बढी क्षति भएको छ । बाढी र वर्षाले विभिन्न ठाउँमा पोल तथा प्रसारण लाइनमा क्षति पुग्दा शुव्रmबार रातिदेखि जिल्लाको उत्तरी भेगमा विद्युत् सेवा ठप्प भएको नेपाल विद्युत् प्राधिकरण गौशाला शाखाका प्रमुख जगरनाथ झाले बताउनुभयो ।

एक हजार छ सय परिवार विस्थापित

सर्लाहीमा एक हजार ६१९ परिवार विस्थापित भएका छन् । चव्रmघट्टा गाउँपालिका–१, पडरियामा २० वटा कच्ची घरमा पूर्ण क्षति पुगेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । सबैभन्दा बढी लखन्देही खोलाले क्षति गरेको छ । मनुष्मारा, झिम, सोती, बागमतीलगायत खोलाले पनि ठाउँ ठाउँमा कटान तथा डुबानमा पारेको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि बलरा नगरपालिका–३ का सात सय घरमा पानी पसेको छ । लखन्देही खोलामा आएको बाढी पस्दा मलङ्गवा नगरपालिका–५, भाडसरमा करिब दुई सय घर डुबानमा परेका छन् ।

कौडेना गाउँपालिका–७, शिवनगरमा लखन्देही खोलाले बाँध कटान गरेर बस्तीमा पसेपछि आइतबार बिहानैदेखि करिब चार सय घरधुरीका बासिन्दा घर फर्कन सकेका छैनन् । शिवनगरका पूरै बस्ती डुबानमा परेकाले प्रहरीसमेत जान नसकेको स्थानीय सञ्चारकर्मी नीरज यादवले जानकारी दिनुभयो । डुबानमा परेका १९ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

आइतबार बिहानदेखि भने वर्षा रोकिएकाल जनजीवन व्रmमिक रूपमा सामान्य बन्दै गएको छ ।

रौतहटमा चार जनाको मृत्यु

चट्याङ लागेर रौतहटमा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार साँझ चट्याङ लागेर कटहरिया नगरपालिका–२, हथियाही बस्ने १७ वर्षीय सेराज लहेरी र सोही ठाउँका १६ वर्षीय नवीन यादवको ज्यान गएको हो । त्यस्तै शनिबार दिउँसो नै चट्याङ लागेर ईशनाथ नगरपालिका–८, मनसरी टोल बस्ने ४५ वर्षीय शेख जमरुणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बागमती खोलामा आएको बाढीमा डुबेर माधवनारायण नगरपालिका–८ का ७५ वर्षीय पन्मादेवी रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । खोलामा दाउरा टिप्ने व्रmममा डुबेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

यसैबिच गढीमाई नगरपालिका–५, बागमती नदी किनारमा दाउरा टिप्ने व्रmममा ६५ वर्षीय बिगन राय यादवलाई बागमती नदीले बगाउँदा स्थानीय र सशस्त्र प्रहरी बल सन्तपुरको सहयोगमा उद्धार गरिएको सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारीले जानकारी दिनुभयो । हुलाकी राजमार्गमा लाल बकैया नदीको बाढीका कारण पूर्ण रूपमा बाटो अवरुद्ध भएको छ । गुजरा–८ स्थित लमहा खोलामा पानीको बहाब उच्च रहँदा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द छ  ।