10/01/2025, 12:09:29
बुधबार, असोज १५, २०८२

काठमाडौँका सडक प्रायः सुनसान


काठमाडौँ, असोज १५ : हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

उहाँले भन्नुभयो, “दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।

गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् । परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..