१३ असोज, काठमाडौँ — २४ भदौमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाही नगर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति एमालेले आपत्ति जनाएको छ । त्यस्तो कार्यमा संलग्न व्यक्ति जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै गृहले कारबाही नगर्न दिएको निर्देशनले विध्वंसमा संलग्न दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप एमालेले लगाएको छ ।
एमालेको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले प्रहरीलाई निर्बाध अनुसन्धान गर्न दिन माग पनि गरेको छ । ‘यस निर्देशनले नेपाल प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमाथि हस्तक्षेप मात्र गरेको छैन, यसले अपराधीको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनसाय पनि बोकेको छ ।’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि भने ।
अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने जाँचबुझ आयोगको निर्णयप्रति पनि एमालेले आपत्ति जनाएको छ । ‘यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्छ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ,’ एमालेको सचिवालय निर्णयमा भनिएको छ ।
एमालेले सरकार राजनीतिक दललाई निषेध गर्ने बाटोमा अघि बढेको आरोप लगाउँदै तोकिएको समयमा निर्वाचन हुनेमा आशंका गरेको छ । ‘सरकार बनेको दुई साता भए पनि मुख्य राजनीतिक दलसँग संवाद, सम्पर्क देखिएन । साँच्चै निर्वाचन हुने स्थिति छ त ? गम्भीर प्रश्न छ । निर्वाचन हुन निष्पक्ष र भयरहित वातावरण हुनुपर्छ । बिस्तारै सरकार निषेधको बाटोबाट हिँड्न खोजेको देखिन्छ,’ उपमहासचिव ज्ञवालीले भने ।
उनले राजनीतिक दललाई लक्षित गरेर भौतिक क्षति पुर्याउन केही व्यक्तिले खुलेआम भनिरहेको भन्दै आपत्ति जनाए । ‘अन्तर्वार्ता दिँदै पुराना दललाई चुनावमा भाग लिन दिँदैनौं भनिएको छ । यसले अबको पाँच महिनापछि हुने चुनावको संकेत गर्छ र ?’ उनले थपे ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय गर्न एमालेले २७–२९ असोजमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । एमालेले २३ र २४ भदौमा भएको घटनाको छानिबन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ । जेन–जी आन्दोलनमा मानवीय क्षति हुनुमा घुसपैठ भएको निष्कर्ष एमालेको निकालेको छ । राष्ट्रपति निवास, सिंहदबार, सर्वोच्च अदालत, संसद् भवन, सरकारी निकाय, व्यावसायिक भवन, निजी निवासमा आगजनी हुनुमा प्रतिगमन चाहने तत्त्वको घुसपैठ भएको एमालेको दाबी छ ।
‘यो यति ठूला घटनाक्रमबारे किन आकलन गर्न सकेनौं ? सरकारी सूचनामा कहाँ ग्याप रह्यो ? समीक्षा गर्छौं’ उपमहासचिव ज्ञवालीले भने, ‘यो कुनै राजनीतिक पार्टीको समस्या होइन, राष्ट्रिय समस्या हो । सबै लोकतन्त्र पक्षधर दल, नागरिक समाजलाई आफ्नो ठाउँमा संविधानको रक्षा, लोकतन्त्रका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरेका छौं ।’
एमाले नेतृृत्व पुनर्गठनका विषयमा पनि बैठकमा छलफल भएको छ । केन्द्रीय कमिटीले महाधिवेशनको मिति तोकेर पार्टी र नेतृत्व नयाँ ढंगले लैजाने उनको भनाइ छ । ‘पार्टीलाई नयाँ ढंगले कसरी अघि लैजाने, नेतृत्वबारे के गर्नुपर्छ ? कार्यसम्पादनमा कहाँ सुधार गर्नेबारे छलफल गरेका छौं,’ ज्ञवालीले थपे, ‘केन्द्रीय कमिटीपछि सम्भवतः छिट्टै महाधिवेशनमा जानेछौं ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















