काठमाडौँ, ७ असोज : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए ।
‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि अस्थायी रुपमा ठमेलस्थित केसर महलमा सारिएको छ । केसर पुस्तकालयसँगैको उक्त भवनको पहिलो तलामा शिक्षा मन्त्रालयको कार्यकक्ष स्थापना गरिएको छ ।
मन्त्री पुनले सोमबार शपथपछि कार्यकक्षमा पदभार ग्रहण गर्दै सचिव चुडामणि पौडेललाई आफ्नो लागि गाँस, बासको व्यवस्था पनि मन्त्रालयभित्रै मिलाइदिन आग्रह गरेका थिए । २४ सै घण्टा मन्त्रालयमा बसेर काम गर्ने उनले घोषणा गरेका थिए ।
‘म जता गए पनि जहाँ काम गर्छु त्यहीं बास बस्ने बानी छ । राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा पनि त्यहीं बस्थें । काम परे कीर्तिपुरबाट २ महिनामा मात्रै काठमाडौं निस्कन्थें । म विरगन्ज गए पनि जहाँ काम गर्यो त्यहीं बस्ने हो,’ उनले भने, ‘मलाई एउटा सुत्ने खाट चाहियो । टेबुल कुर्ची चाहियो । किचन चाहियो । म आफैं पकाएर खान्छु ।’ मन्त्री नियुक्तिसँगै राष्ट्रिय आविष्कार केन्द्र नेपालबाट अलग भएको उनले जनाए । सोमबार राति भने उनी बास बस्न कीर्तिपुर नै पुगेका थिए ।
मन्त्री पुनले मन्त्रालयभित्रै सुरक्षाकर्मीलाई पनि सँगै बस्ने प्रस्ताव गरेका थिए । मन्त्रालयको काममा मात्रै सरकारी गाडीको सुविधा लिने उनको भनाइ छ । ‘माथि रिपोर्ट गर्नु मन्त्रालयबाट बाहिर निस्केको बेला मेरो पछिपछि आउन पर्दैन,’ साथमा खटिएका सुरक्षाकर्मीलाई उनले भनेका थिए ।
मन्त्रालयका प्रवक्ता सापकोटाले सुरक्षाकर्मीलाई समेत मन्त्रालयभित्रै बस्ने ठाउँको प्रबन्ध मिलाइएको बताए । ‘कोठाहरु खाली गर्दै मन्त्रीज्यूको टिमलाई बस्ने ठाउँ बनाएका छौं,’ उनले भने, ‘१/२ दिनमा व्यवस्थित हुन्छ ।’