09/16/2025, 19:09:05
मङ्गलबार, भदौ ३१, २०८२

सडकको अवस्था हेरेर अग्रिम टिकट ‘बुकिङ’ खुला हुने


काठमाडौँ, भदौ ३१ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्णरूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउन समय लागेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको महासङ्घले जनाएको हो ।

सडक सुधार हुन नसक्दा उपत्यकादेखि बाहिर जान र आउनै समस्या छ । हामीले धेरै दिन अघिदेखि बुकिङ खुला गर्ने तर सवारीसाधन फर्केर आइपुगेन भने के गर्ने ? झन् समस्या हुन्छ । तसर्थ सडकको अवस्था हेरेर मात्रै अग्रिम बुकिङ खुलाउन सकिन्छ,” महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भन्नुभयो, “तर आम नागरिकले बसपार्कमा गएर दुई–तीन दिनअघिको टिकट लिन चाहनुभएमा रोकेका छैनौँ । टिकट अहिले पनि खुला छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण तय गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

गत असोज १०, ११ र १२ गतेको भारी वर्षाका कारण सडकहरू बाढी पहिरोका कारण बिग्रिएका थिए । दसैँमा घर जाने यात्रुलाई सहज थिएन । तर यस वर्ष सडकको अवस्था सहज छ,” उहाँले भन्नुभयो, “बिग्रिएका सडक सुधारका लागि सडक विभागसँग छलफल र समन्वय भइरहेको छ । यस पटक ठूलो वर्षा भएन भने समस्या नहोला ।

पोखरेलले दसैँ लक्षित भाडादर पारदर्शी बनाउन, अनलाइन टिकटलाई प्राथमिकता दिन, सवारी साधनहरूको मर्मत गरेर मात्रै चलाउन, सिटको क्षमताभन्दा बढी यात्रु नबोक्न समेत व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले सुरक्षित रूपमा यात्रुलाई गन्तव्यमा पुर्‍याउने गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..