09/13/2025, 23:33:14
शनिबार, भदौ २८, २०८२

नयाँ बसपार्कबाट बाहिरिए तीनसयभन्दा बढी सवारीसाधन


काठमाडौँ, भदौ २८ : काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेन-जी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आज नयाँ बसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका हुन् ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँबसपार्कबाट बाहिरिएका जानकारी दिनुभयो ।

यही भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्यस्थलतर्फ जान थालेका छन्”, उहाँले भन्नुभयो । आज बिहानदेखि काठमाडौँको कर्फ्यू हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उहाँको भनाइ छ ।

उहाँले दसैँसमेत सुरु हुन लागेकाले नयाँ बसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताउनुभयो । यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेन-जी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..