बागलुङ (गलकोट), भदौ २८ : जेन-जी प्रदर्शनका क्रममा बागलुङ बजारमा स्थाई घर भई काठमाडौँमा बस्दै आएका सौरन किशोर श्रेष्ठको गत सोमबार मृत्यु भयो । ३८ वर्षीय श्रेष्ठ कोरियाको पाँच वर्षे बसाई अन्त्य गर्दै नेपाल फर्किनुभएको थियो । स्वदेशमा नै केही गर्ने उद्देश्यले नेपाल फर्किएका उनीको प्रहरीले हानेको गोली लाग्दा मृत्यु भयो ।
पारिवारका अनुसार सोमबार दिउँसो आन्दोलन हिंसात्मक भइरहेका बेला प्रहरीले चलाएको गोली सौरनको छाती र घाटी घाँटीमा लागेको थियो । गोली लागेपछि घटनास्थलमै ढल्नुभएको उहाँलाई तत्कालै सिभिल अस्पताल लगिएको थियो । तर अवस्था गम्भीर भएपछि उहाँलाई काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो । उहाँलाई त्यहाँ पुर्याइएको रात नै चिकित्सकहरुले मृतक घोषण गरेका थिए ।
दाईको यस्तो खबर सुनेर बहिनी स्वस्तिका श्रेष्ठ नेपाल फर्किनुभएको छ । सौरन बागलुङ उद्योग वाणिज्य संघका पूर्व महसचिव रहेका बसन्त किशोर श्रेष्ठका एक्ला छोरा हुनुहुन्थ्यो ।
दक्षिण कोरियामा पाँच वर्ष काम गरेर नेपाल फर्किनुभएको सौरनले यहीँ बसेर काम गर्ने योजना बनाउनुभएको थियो । तर यहाँको अवस्थाप्रति असन्तुष्ट हुनुभएको उहाँले फेरि विदेशमा रोजगारी खोज्ने तयारी समेत थाल्नुभएको थियो । तर उहाँका सबै सपना अपूरो भयो । जेन-जी आन्दोलनसँगै उहाँको सपनाको पनि अन्त्य भएको छ । सौरनकी पत्नी, पाँच वर्षीय छोरा र बुबा आमासँगै काठमाडौँ बस्दै आउनुभएको थियो ।
केहि समय पहिले आमा बुवा अमेरिका गएको बेला उक्त घटना भएको थियो । उहाँका बुवा बसन्त स्वदेश फर्किनुभएको छ । अहिले सौरनको निधनसँगै पत्नी र परिवार भावविह्वल बनेको छ । उनीहरुको साहरा गुमेको छ ।
यो केवल एउटा घटना मात्र होइन, दशकौँको मौन पीडा र अन्याय, भ्रष्टाचारविरुद्धको सामूहिक विस्फोट थियो । यसलाई यसै खेर जान नदिने र राज्यले शहीद वा सम्मान गर्न आग्रह गरेको परिवारको भनाइ छ ।
– नवराज नेपाली