भदौ २७ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । सामाजिक सञ्जालमा कार्कीको फोटोसहितको वक्तव्य जारी गर्दै भट्टराईले कार्की सक्षम र स्वच्छ व्यक्तित्व भएको बताएका हुन् ।
कार्कीले वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका अन्त्य गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । ‘त्यसको उपयुक्त संविधासम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ’, भट्टराईले भनेका छन् ।
उनले कार्कीको हुन लागेको नियुक्ति र २०६९ सालमा खिलराज रेग्मीको नियुक्तिको नजीर अलिकति पनि मेल नखाने दाबीसमेत गरेका छन् । ‘त्यतिबेला विद्यमान अन्तरिम संविधान थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा माओवादी बीचको सहमति बुझ्नुपर्छ भनेर स्पष्टीकरणसमेत त्यहीँ राखिएको थियो’, उनले भनेका छन् ।
तर, अहिले निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान देशमा रहेको भट्टराईको तर्क छ । उनका अनुसार, हालको संविधानमा त्यस्तो कुनै प्रावधान छैन, जसमा कार्कीलाई अवरोध होस् ।
उनले जेनजीलाई संवेदनशील भएर सोच्न आग्रह पनि गरेका छन् । अहिलेको आन्दोलनभन्दा पनि ठूलो बलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान भएको हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजीका लगि दीर्घकालीन हित हुने सुझाव उनले दिएका छन् ।