काठमाडौँ,२३ भदौ : गत साउन २३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मोहर’ अहिले हलमा पाँचौं हप्तामा चलिरहेको छ । यो सिनेमाले बक्सअफिसमा सुखद कमाई गरिरहेको छ । यो वर्षकै दोस्रो हिट सिनेमामा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ ।
पाँचौं हप्तामा यो सिनेमाको निर्माणपक्षले दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका ४ वटा हलमा गएर सिनेमा हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको म्याङ्गो जन ज्योती सिनेमा, समाखुशीको क्यूएफएक्स स्क्वायर मल, किर्तिपुरको किर्तिपुर सिनेप्लेक्स र न्यूरोडको रञ्जना सिनेप्लेक्स मा गएर सिनेमा हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् ।
चितवनको म्याङ्गोमा सिनेमा हेर्नेमध्ये ३ जना, क्युएफएक्स सिटी स्क्वायरमा सिनेमा हेर्नेमध्ये २ जना, किर्तिपुर सिनेप्लेक्समा सिनेमा हेर्ने मध्ये २ जना र रञ्जना सिनेप्लेक्समा सिनेमा हेर्नेमध्ये २ जनाले यो पुरस्कार प्राप्त गर्न सक्नेछन् । दर्शकले सिनेमाको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्नेछ ।
भदौको २३ गते भोलीबाट असोजको ११ गतेसम्म सिनेमा हेर्ने दर्शकमध्ये ९ जनाले यो पुरस्कार जित्न सक्नेछन् । यसभन्दा अगाडि सिनेमा हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने निर्माणपक्षको भनाई छ । विजेताहरुलाई सिनेमाको ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माणपक्षले बताएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा चुम्बन जंग शाहीले निर्माण गरेको यो सिनेमाले बक्स अफिसमा ४ करोड ९२ लाख माथिको व्यापार गरिसकेको छ । पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारको यो सिनुमामा अभिनय छ ।