09/04/2025, 03:41:06
बुधबार, भदौ १८, २०८२

एमालेको दस्तावेजमा होइन, निर्णयमाथि फरक मत छ : महासचिव पोखरेल


काठमाडौँ, भदौ १८ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि फरक मत नरहेको बताउनुभएको छ ।

एमालेको भदौ २० देखि २२ गतेसम्म हुन गइरहेको दोस्रो विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी दिन बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महासचिव पोखरेलले एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुँदैन तथा नवीकरण गर्ने कुरा अस्वीकार गर्नुपर्दछ भन्ने केन्द्रीय कमिटीको निर्णयमाथि असहमति राख्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कसलाई सदस्यता दिने या नदिने भन्ने विषय दस्तावेजको विषय होइन । त्यसअर्थमा, दस्तावेजमाथिको फरक मत होइन । निर्णयमाथिको फरक मत हो । निर्णयमाथिको फरक मत चाहिँ विधान अधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने विषय सचिवालय बैठकले निरुपण गर्ला ।” उपाध्यक्षद्वयको फरक मतका सम्बन्धमा विधान महाधिवेशनमा छलफल गर्ने या राष्ट्रिय महाधिवेशनमा भन्ने विषय बुधबार दिउँसो ३ बजे बस्ने सचिवालयको बैठकले टुङ्गो लगाउने उहाँको भनाइ छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुन गइरहेको एमालेको दोस्रो विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, महासचिव पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने उपप्रधान एवम् अर्थमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावको संयोजन गर्नुभएको छ । उहाँका अनुसार स्थायी कमिटी सदस्य कर्ण थापाले विधानकै सन्दर्भमा असहमति राख्दै आएका कारण नेता थापाले फरक मत राख्नुहुने सम्भावना छ । वैधानिक व्यवस्था अन्तर्गत यस विषयमा छलफल हुने उहाँको भनाइ छ ।

शुल्क नउठाइने

महासचिव पोखरेलले विधान महाधिवेशन सफल बनाउन प्रतिनिधिबाट शुल्क नउठाउने निर्णय भएको जानकारी दिनुभयो । पार्टी केन्द्रको तर्फबाट व्यवस्थापन खर्च हुने उहाँको भनाइ छ । यद्दपि, यति नै खर्च लाग्छ भन्ने कुराको अहिले नै आङ्कलन गर्न नसकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीका दस्तावेजका सन्दर्भका बारेमा हामीले तीन वटा दस्तावेज विधान महाधिवेशनमा गर्ने गरेका छौं । पार्टी अध्यक्षका तर्फबाट राजनीतिक प्रस्ताव प्रस्तुत हुनेछ । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव संयोजन गरिराख्नुभएको छ । उहाँले नै विधान संशोधन प्रस्तुत गर्नुहुनेछ । सङ्गठनात्मक प्रस्ताव म आफैले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

समूहगत छलफल हुने

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले दोस्रो विधान महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुने जानकारी गराउनुभयो ।

अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

उहाँले प्रस्तुत भएका प्रस्तावमाथि समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्य विशाल भट्टराई लगायतका नेता उपस्थित हुनुभएको थियो ।