काठमाडौँ,भदौ १७ : प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ)‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ ।
उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।