बुटवल, भदौ १२ : “माइजू हो भनेर पैसा पठाएँ तर चोर पो रहेछ !” बुटवल योगीकुटीकी हिरा गुरुङ (नाम परिवर्तन) को भनाइ हो यो । करिब एक महिनाअघि हिरालाई उहाँकी माइजू रिता थापाको म्यासेन्जरबाट सन्देश आयो, “अत्यावश्यक परेको छ, तुरुन्तै ४९ हजार रुपियाँ पठाइदेऊ नानी !”
पारिवारिक नातामा भर परेर हिराले रकम पठाएपछि मात्र थाहा भयो ह्याकरको सन्देश हो रहेछ भनेर । उजुरी दिएको भए पनि उहाँले रकम फिर्ता पाउन सक्नुभएन ।
रुपन्देहीमा हिरा मात्र होइन, यस्तै घटनाले प्रहरी कार्यालयमा फाइलको चाङ बढाएको छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र ७०८ वटा अनलाइन ठगीका उजुरी दर्ता भएका छन् । जसमा ठगीमा परेको रकम करिब ११ करोड ७२ लाख रुपियाँ पुगेको छ । अनुसन्धानपछि मात्र करिब दुई करोड ५३ लाख फिर्ता गरिएको छ, बाँकी रकम अझै हराइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नायब उपरीक्षक सुरज कार्कीका अनुसार यस वर्ष सङ्ख्या दोब्बर हुन सक्ने अनुमान छ ।
फाइल पल्टाउँदा विभिन्न प्रकारका ठगीका घटना देखिन्छन् । तिलोत्तमा–४, रुपन्देहीका २२ वर्षीय अमन कशौधनलाई फेसबुक पेजले ब्रान्डेड मोबाइल आधा मूल्यमा बेच्ने भन्दै १८ हजार रुपियाँ फसाइदियो । तिलोत्तमा–१७ की सुनिता थापालाई अमेरिकाबाट गिफ्ट पठाइदिएको झुटा प्रलोभन देखाई २५ हजार रुपियाँ फसाइयो । बुटवल–१२ की माया दर्जीले अनलाइन ऋणको बहानामा व्यक्तिगत विवरण पठाई १५ हजार गुमाउनुभयो । बुटवलकै ६८ वर्षीय एक महिलाले बेलायत जाने र विवाह गर्ने प्रलोभनमा जीवनभरको जम्मा कमाइ ४८ लाख रुपियाँ गुमाउनुभयो ।
प्रहरीका अनुसार अनलाइन ठगी बढ्दो छ । कसैलाई सस्तो सामानको प्रलोभन देखाइन्छ, कसैको फेसबुक वा मेसिन आइडी ह्याक गरेर आफन्तसँग पैसा मागिन्छ, कसैलाई अन्तर्राष्ट्रिय लट्री, गिफ्ट, ऋण वा अनलाइन गेमिङ र बेटिङ एपमा फसाइन्छ । यसमा मुख्य लक्षित समूह १८–३५ वर्षका युवा हुन्, जसले सामाजिक सञ्जालमा बढी समय बिताउँछन् र छिटो फाइदा हुने लोभमा पर्छन् । इलाका प्रहरी कार्यालय बुटवलका निरीक्षक धर्मराज खत्री भन्नुहुन्छ, “प्रविधिको आफैँमा दोष छैन, यसको दुरुपयोग गर्नेको चलाखी र लोभमा पर्ने युवाको मानसिकता मुख्य कारण हो ।”
प्रहरीले अनलाइन अपराध न्यूनीकरणका लागि विद्यालय, क्याम्पस र टोलस्तरमा साइबर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । छुट्टै साइबर हेल्प डेस्क र १०० वा ११४० मा तुरुन्त सम्पर्क गर्ने व्यवस्था पनि मिलाइएको छ ।
प्रहरीले यसका लागि सजगता नै मुख्य सुरक्षा भएको बताएको छ । अज्ञात लिङ्क नखोल्ने, आधिकारिक वेबसाइट वा कम्पनीसँग मात्र कारोबार गर्ने, रकम पठाउनुअघि प्रमाण खोज्ने र व्यक्तिगत विवरण बाँड्दा सावधानी अपनाउने हो भने अनलाइन ठगीबाट जोगिन सकिने प्रहरीको भनाइ छ ।