08/27/2025, 14:46:12

बजेट अभावले कञ्चनपुरमा नेपाल आमाको मूर्ति निर्माण अलपत्र


दोधारा चाँदनी (कञ्चनपुर), भदौ ११ : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ ।

जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गर्नुभएको थियो । मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्यस्तरबाट सहयोग नहुँदा मूर्ति निर्माण पूरा भएको छैन ।

प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि रु तीन करोड बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ”, जगतगुरु मोहनशरण देवाचार्यले भन्नुभयो, “सरकारबाट सहयोग प्राप्त भएको छैन ।

उहाँले उक्त मूर्ति राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । मूर्ति निर्माणका लागि २०७४ सालमा भ्याली कन्स्ट्रक्सनलाई रु १० करोड ८१ लाखमा ठेक्का दिइएको थियो ।

जगतगुरु मोहनशरण देवाचार्यले २०७२ साल वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन भएका थिए । त्यसबाहेक स्थानीयले तीन टन धातु दान गरेका थिए । यही धातुबाट मूर्ति निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा निर्माण पूरा हुन सकेको छैन ।

भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि गर्न थालेपछि चहलपहल हुन थालेको हो । यहाँ नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएपछि धामको महत्व बढेको र धार्मिक पर्यटक बढ्न थालेको स्थानीय बताउँछन् ।

जगतगुरु यहाँ आएर मूर्ति बनाउन थालेपछि यो क्षेत्र चर्चामा आएको हो अहिले झापादेखिका मानिस आउने गरेका छन्”, स्थानीय मोहनदेव जोशीले भन्नुभयो । पाण्डवहरु वनवासको समयमा यस क्षेत्रका कुवामा पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको र यस क्षेत्रको इतिहास महाभारतसँग जोडिएको विश्वास गरिन्छ । “यो सिद्धबैजनाथको भूमि भएकाले यसको महत्व धेरै छ त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती पनि छ ।” धाममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको फरक–फरक कुण्डहरु निर्माण गरिएको स्थानीय निर्मला भट्टको भनाइ छ ।