सियोल, साउन २८ : दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम किओन हीलाई पुँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मङ्गलबार राति पक्राउ गरिएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीय किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकको अनुरोधको पुनरवलोकन गरेको केही घण्टापछि उहाँलाई पक्राउ गरिएको हो ।
अभियोजकले किमको कथित ‘गैरकानुनी कार्य’ बारे ८४८ पृष्ठ लामो राय पेश गरेपछि प्रमाण नष्ट गर्न सक्ने खतरा रहेको भन्दै पक्राउ पुर्जी जारी गरिएको हो । उहाँको पक्राउसँगै दक्षिण कोरियाको इतिहासमा पहिलो पटक एक पूर्व राष्ट्रपति र प्रथम महिला जेलमा परेका छन् । किममाथि लगाइएको अभियोगमा पुँजी बजार र वित्तीय लगानीसम्बन्धी कानुनका साथै राजनीतिक कोषसम्बन्धी कानुनको उल्लङ्घन गरेको पनि उल्लेख छ ।
गत डिसेम्बर ३ मा पूर्व राष्ट्रपति युन सुक योलले संसदमा सैनिक तैनाथ गरी संसदीय प्रक्रिया अवरुद्ध पार्न खोजेको तर विपक्षी सांसदले सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद संसदमा प्रवेश गरी उहाँको गैर-कानुनी कदमविरुद्ध मतदान गरेका थिए । उहाँविरुद्ध पछि महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो भने महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित भएपछि उहाँलाई पक्रउ गरिएको थियो ।
पूर्व राष्ट्रपति योलले आश्चर्यजनक सैनिक शासन घोषणा गरेपछि भएको यो गिरफ्तारी दक्षिण कोरियाको इतिहासमा नै पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुबै जना बन्दी बनेको पहिलो घटना हो । पूर्वउच्च अभियोजकसमेत रहेका पूर्वराष्ट्रपति युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो र मार्शल ल को घोषणाको कारण पदबाट हटाइएको थियो । उहाँको पक्राउपछि रिक्त रहेको राष्ट्रपति पदका लागि जूनमा मध्यावधि चुनाव भएकोे थियो ।
पूर्वराष्ट्रपति युन जुलाई १० देखि पक्राउ पर्नुभएको छ र अहिले हिरासतमा हुनुहुन्छ । बुधबार सरकारी वकिलको कार्यालय पुगेकी किमले भनिन्, “कुनै महत्वको व्यक्ति नभए पनि राष्ट्रको लागि समस्या सिर्जना गरेको भए म क्षमा याचना गर्दछु ।” पुँजी बजार हेरफेरमा भूमिका खेलेको विवादले लामो समयदेखि किमलाई घेरेको छ । सन् २०२२ मा एक जना वामपन्थी पास्टरले उहाँलाई दिएको डायर ह्यान्डब्याग उपहारसहितको भिडियो खिचेपछि सार्वजनिक आलोचना सुरु भएको थियो ।
उहाँमाथि युनको पार्टीमा सांसदहरूको मनोनयन प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि लगाइएको छ, जुन निर्वाचन कानुनको उल्लङ्घन हो । राष्ट्रपतिका रूपमा युनले विपक्षी नियन्त्रित संसद्ले पारित गरेका तीन वटा विशेष अनुसन्धान विधेयकमा भिटो लगाउनुभएको थियो । जसमा किममाथि लागेको आरोपको छानबिन गर्न खोजिएको थियो । त्यसको एक हप्तापछि युनले असफल सैनिक शासनको घोषणा गर्नुभएको थियो ।
जेलको नियमअनुसार किमले आफ्नो सामान्य लुगाबाट जेलको खाकीको कपडा लगाउनुपर्नेछ भने कैदीको नम्बर पनि तोक्नुपर्नेछ । दक्षिण कोरियामा गर्मीको लहर चलिरहँदा पूर्व प्रथम महिलालाई १० वर्ग मिटर (१०७ वर्ग फिट) को एकान्त कक्षमा राखिएको छ, जसमा पङ्खा छ तर वातानुकूलन छैन । जेलको आधिकारिक तालिका अनुसार उहाँलाई रोटी, जाम र ससेजसहित नियमित ब्रेकफास्ट दिइएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनको कोठामा खान र पढ्नका लागि एउटा सानो टेबल, एउटा शेल्फ, एउटा सिङ्क र एउटा शौचालय छ, तर ओछ्यान छैन । उहाँलाई सामान्यतया उहाँका पतिसरह नै कैदी गृहमा राखिने भए तापनि अभियोजकले सोमबार उहाँलाई २० किलोमिटर टाढाको छुट्टै हिरासतमा राख्न अनुरोध गरेका थिए । पक्राउ पुर्जी जारी भएपछि प्रथम महिलाको पूर्वराष्ट्रपतिको परिवारका लागि दिइएको सुरक्षा सेवाको सुरक्षा तुरुन्तै समाप्त गरिएको थियो ।
कानुनविद् किम नाम-जुले एएफपीसँग कुरा गर्दै अभियोजनकर्ताले किमलाई २० दिनसम्म थुनामा राख्न सकिने बताउनुभएको छ । वकिल नाम-जुले भन्नुभयो, “किममाथि अभियोग अनुसार उहालाईँ कम्तीमा छ महिनासम्म हिरासतमा राख्न सकिनेछ । पूर्वप्रथम महिलाले वारेन्टलाई गैरकानुनी भन्दै अदालतमा चुनौती दिन सक्ने व्यवस्था दक्षिण कोरियाको कानुनी प्रावधान छ । वकिल नाम-जुले भन्नुभयो, “तर हालको परिस्थितिलाई हेर्दा, प्रमाण नष्ट हुने उच्च जोखिम देखिन्छ, जसले गर्दा वारेन्ट रद्द हुने र व्यक्तिलाई रिहा गर्ने सम्भावना कम हुन्छ ।” “अर्को विकल्प जमानत हो, तर प्रमाण नष्ट गर्नेबारे चिन्ता भएको अवस्थामा यो अनुमति पनि दिइएको छैन ।