१९ साउन, काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने प्रक्रियामा सहभागी व्यक्ति र कारबाही स्पष्ट रूपमा उल्लेख गरेर प्रतिवेदन ल्याउन छानबिन समितिसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो माग गरेका हुन् । उनले राजनीतिक र प्रशासनिक हस्तक्षेपका कारण कुलिङ अफ पिरियडको व्यवस्थामा छलछाम गरिएको टिप्पणी गरे ।
उनले संसद्को गरिमा रक्षा गर्न यस्तो हस्तक्षेपका दोषीहरूलाई किटान गरेर छानबिन प्रतिवेदन आउनुपर्ने बताए । उनले आठ अर्बभन्दा बढी मूल्यमा पासपोर्ट छपाइको ठेक्का टुक्र्याएर सेटिङमार्फत दिन खोजिएको भन्दै आपत्ति समेत जनाए । उनले उक्त ठेक्का रद्द गरी पारदर्शी रूपमा नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने बताए ।
उनले भने, ‘संसद्को गरिमाको लागि पनि सत्ता र राजनीतिक, प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षेपका बाबजुद संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम र कारबाही किटान गरेर आओस् भन्ने कुरामा म जोडदार माग गर्दछु । आठ अर्बभन्दा बढी पासपोर्ट छपाइको ठेक्का टुक्र्याएर सेटिङमा दिने गरी घप्लाबाजी गरेकोले उक्त ठेक्का खारेज गरी नयाँ ठेक्का प्रक्रिया अगाडि बढाइयोस् । प्रहरी र सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान खरिदको विषयमा पनि मिलेमतो भइरहेको छ । सो ठेक्का पनि खारेज गरी पारदर्शी तरिकाले गरियोस् ।’