08/03/2025, 15:45:49

४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


१८ साउन, काठमाडौं : बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

यसका लागि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ आर्थिक वर्षको सुरुवातसागै बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (अधिक तरलता) झनै बढेको छ । गएको वर्ष ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकोमा असार मसान्तमा बढेर साढे १० खर्ब रुपैयाा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।