१६ साउन, सियोल : दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । पूर्वराष्ट्रपति युनले अदालतमा उपस्थित हुन पटक–पटक अस्वीकार गरेपछि सोधपुछका लागि उनलाई जबर्जस्ती ल्याउन गिरफ्तारी वारेन्ट जारी गर्नुपरेको अदालतले उल्लेख गरेको छ ।
युन र उनकी श्रीमती किम केओन हीको विषयमा अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘पूर्वराष्ट्रपति युन सुक येओलका लागि आज गिरफ्तारी वारेन्ट जारी गरिएको छ ।’
गत वर्ष ३ डिसेम्बरमा सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका युनलाई १५ जनवरीमा पक्राउ गरिएको थियो । तर अदालतले प्राविधिक कारण देखाउँदै दुई महिनापछि मार्चमा उनलाई रिहा गर्न आदेश दिएको थियो । तर उनले मुद्दासँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने चिन्ताका कारण जुलाईको सुरुमा फेरि हिरासतमा राखिएको थियो । अझै पनि उनले अदालतमा विभिन्न पाँच प्रमुख आरोपको सामना गरिरहेका छन् । खासगरी युनलाई सैन्य शासन लगाउने प्रयास गरी विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइएको हो । यदि दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ ।
गत डिसेम्बर ३ मा युनले नागरिक शासनलाई अन्त्य गर्ने प्रयास गरेपछि दक्षिण कोरियामा राजनीतिक संकट बढेको थियो । युनले हठात् शैलीमा मार्शल कानुन लगाउन खोजेपछि सांसदहरू रातारात संसद्मा भेला भएर उनीविरुद्ध आन्दोलित भएका थिए । पछि मार्शल कानुनको घोषणा हुनबाट रोक्न सांसदहरूले मतदान गर्न खोजेपछि त्यसलाई रोक्न युनले संसद्मा नै सेना परिचालन गरेका थिए ।
संसदीय चुनावमा छेडछाड गरेको आरोपको अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि बारम्बार बोलाएका थिए । तर उनका वकिलले युनको स्वास्थ्य समस्याको कारण बताउँदै उपस्थित भएका थिएनन् । बुधबार भने अभियोजकले युनलाई नजरबन्दमा राख्नुपर्ने भन्दै वारेन्टका लागि नयाँ अनुरोध दायर गरेका थिए । बिहीबार अदालतले सोहीबमोजिम युनविरुद्ध वारेन्ट जारी गरेको हो ।