१३ साउन, काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै देउवाले कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत धेरै गाली खानुपरेको बताएका हुन् ।
‘कांग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ । व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीकरण गर्नुभयो । यति गाली पाउनुभयो उहाँहरुले, सारा व्यपारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो । हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन,’ उनले भने ।
सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताए । आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउन नहुने उनको भनाइ छ ।