माले, ९ साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई राष्ट्रको भ्रमणको दोस्रो चरणका रूपमा शुक्रबार माल्दिभ्स आइपुग्नुभएको छ । उहाँको आगमनमा राष्ट्रपति मुइज्जुले न्यानो स्वागत गर्नुभयो ।
दुई नेताले एकअर्कालाई आलिङ्गन गर्दै अभिवादन गरेको देखिएको थियो । यस अवसरमा माल्दिभ्सका विदेशमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र गृह सुरक्षा मन्त्री पनि उपस्थित हुनुहुन्थ्यो ।
टापु राष्ट्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको दुई दिने राज्य भ्रमणका लागि स्वागत गर्न तयार हुँदा माल्दिभ्सको राजधानी मालेले शुक्रबार ठूलो पोस्टर, रङ्गीन ब्यानर र भारतीय झण्डा फहराउँदै उत्सवका रूप धारण गरेको थियो ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो अभिवादन’ सन्देश भएका पोस्टरहरू सहरभरि प्रदर्शन गरिएको थियो । केही ब्यानरहरूमा प्रधानमन्त्री मोदीको फोटो लगाइएको थियो । भारतीय झण्डा सडकहरूमा लामबद्ध थिए र धेरै केटाकेटीले पनि प्रधानमन्त्री मोदीको आगमनको प्रतीक्षामा उहाँको चित्र र तस्विरहरू समातेका थिए ।
प्रधानमन्त्री मोदीलाई माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले निमन्त्रणा गर्नुभएको हो । मोदीले देशको ६०औँ स्वतन्त्रता दिवस समारोहमा सम्मानित अतिथिको रूपमा सहभागिता जनाउनुहुनेछ ।
यो प्रधानमन्त्री मोदीको माल्दिभ्सको तेस्रो भ्रमण हो र राष्ट्रपति मुइज्जुको कार्यकालमा कुनै पनि राष्ट्र प्रमुख वा सरकार प्रमुखको पहिलो भ्रमण हो । माल्दिभ्समा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरूले मोदीको भ्रमणलाई लिएर उत्साह व्यक्त गरे ।
प्रधानमन्त्री मोदीको आगमनअघि भारतीय समुदायका एक सदस्यले भने, “हामीसँग ठूलो नेता भएकामा हामी गर्व गर्छौं । हामी अपरेसन सिन्दूर, उहाँले गरेको कार्य र भारतमा भइरहेको विकासप्रति गर्व गर्छौं ।”
आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले प्रमुख क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्न राष्ट्रपति मोहम्मद मुइज्जुसँग वार्ता गर्नुहुनेछ । यो भ्रमणले भारत र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव पनि मनाएको छ । हालैका वर्षहरूमा भारतले विकास सहायता, पूर्वाधार परियोजनाहरू र आपत्कालीन सहायताका माध्यमबाट माल्दिभ्सलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।