07/14/2025, 00:32:53

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाटः सभामुख घिमिरे


काठमाडौँ, २९ असारः सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्त आचार्यबाट भएको बताउनुभएको छ ।
भानुभक्तको २१२औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भाषा, साहित्य र संस्कृतिमा क्षेत्रमा भानुभक्तले गरेको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उहाँको सम्मान गर्ने गरेको बताउनुभयो । नेपाली भाषालाई अझै विश्वस्तरमा लैजाने गरी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।
युवापुस्तामा भानुभक्तको विचार पु¥याउन अझै काम गर्नुपर्नेमा पनि सभामुख घिमिरेले जोड दिनुभएको थियो । साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकास सहयोग पुग्ने उहाँको भनाइ थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली भाषालाई आजको अवस्थासम्म ल्याउन भानुभक्तले गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । नेपाली संसारका विभिन्न भू–भागमा फैलिएसँगै नेपाली भाषाको पनि विस्तार भएको उहाँले सुनाउनुभयो । रामायणमार्फत नै भानुभक्तले नेपाली भाषालाई विश्वभर फैल्याएको मन्त्री पन्तको भनाइ थियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा तनहुँमा विभिन्न भाषाभाषीका आदिकविको प्रतिमालगायत संरचना बनाउन लागिनु सुखद रहेको बताउनुभयो । प्रतिष्ठानले पनि विविध भाषाभाषीका प्रतिमा बनाउन लागेको जानकारी पनि उहाँले गराउनुभयो ।
सम्मानित व्यक्तित्व साहित्यकार तुलसी दिवसले संस्कृति र साहित्यलाई केबल देखाउने रुपमा मात्र नलिइ सांस्कृतिक, साहित्यिक एवं भाषिक व्यक्तिलाई सम्मान गरिनुपर्ने बताउनुभयो । भाषा, साहित्यका लागि आफूले ९० देशमा निमन्त्रणा पाएर त्यहाँ पुगी विचार राखेको स्मरण गर्दै त्यसैका लागि सम्मान पाएको अनुभूति भएको सुनाउनुभयो । नेपाली भाषा, साहित्यमा उहाँले गर्नुभएको योगदानको स्मरण यस वर्षको भानु जयन्तीका अवसरमा अभिनन्दन गरिएको हो ।
कार्यक्रममा साहित्यकार डा नवराज लम्साल, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी, भानु प्रतिष्ठानका पदाधिकारीलगायतले उहाँले नेपाली भाषा, साहित्य र सांस्कृतिक एकीकरणका लागि गर्नुभएको योगदान महत्वपूर्ण रहेकामा जोड दिनुभएको थियो । कार्यक्रमअघि रानीपोखरीस्थित भानु प्रतिमास्थलबाट सुरु भएको ¥याली प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समापन भएको थियो ।
आदिकवि भानुभक्तको जन्म विसं १८७१ असार २९ मा भएको थियो भने निधन १९२५ असोज ६ मा भएको हो । भानुभक्तले संस्कृतमा लेखिएको अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरी योगदान गर्नुभएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..