10/18/2025, 14:05:31
शनिबार, कार्तिक ०२, २०८२

धनतेरस : आरोग्य र आर्थिकोपार्जनको उत्सव


काठमाडौँ, कात्तिक १ : प्राचीनकालमा देवता र असुरद्वारा गरिएको समुद्र मन्थनका क्रममा आरोग्यका प्रवर्तक धनवन्तरिको उत्पत्ति भएको पौराणिक मान्यता छ । धनवन्तरि हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । यसकारण उनको अर्को नाम ‘पीयूषपाणि धनवन्तरि’ पनि हो । उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ ।

कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारको दिन धनवन्तरि त्रयोदशी अर्थात् धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मोत्सव मनाउने पर्व हो ।

धनतेरसका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । तर, यस पर्वमा किनमेल नै गर्नुपर्छ भन्ने अनिवार्य होइन । तर धनवन्तरिको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएको हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मानिन्छ ।

धनतेरसको दिन सन्ध्याकालमा यमराजलाई इंगित गरी एउटा दियो बालेर घरको मूल दैलोमा राखिन्छ, उनलाई घरभित्र नपस्न र कसैलाई दुःखकष्ट नदिन अनुरोध गर्दै पूजा गरिन्छ । यस धार्मिक मान्यताले आम मानिसको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्छ । यस कारण यो धनको भन्दा पनि स्वास्थ्य दीर्घायु र आरोग्यताको पर्व हो । मानिसले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुख समृद्धिका निम्ति धन त्रयोदशीका दिन साँझमा दियो बालेर पूजा गरिन्छ ।

आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ । त्यसैले धनधान्य र समृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । धनतेरसको दिन सुनचाँदीका भाँडाकुँडा, सिक्का, आभूषण आदि किन्ने परम्परा पुरानै हो । हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटरजस्ता विलासिताका वस्तुहरू खरिद गर्ने प्रचलन बढ्दै गएको छ ।

रीतिरिवाज र परम्परासँग जोडिएको ‘धनतेरस’ पर्व आरोग्य, आर्थिकोपार्जन र सुरक्षणसँग जोडिएको छ । तर पछिल्ला वर्षहरूमा विकृति पनि देखिन थालेको छ । केहीले आर्थिक हैसियत र क्षमतालाई प्रदर्शन गर्ने पर्वका रूपमा यसलाई लिएको देखिन्छ । क्षमता भएकाले धनसम्पत्ति जोड्नु नराम्रो होइन । तर अनावश्यक र भड्किलो बनाउनु हुँदैन । सक्नेले जे–जति सम्पत्ति खरिद गरे पनि भयो । समाज नै भड्काउने, विकृति फैलाउने काम गर्नु भएन ।

किनभने धनतेरसमा सम्पत्ति नै जोड्नुपर्छ भन्ने कहीँ छैन । मैले बुझेको परम्पराअनुसार धनतेरसको दिन अन्य सामग्री किन्ने हैन, नयाँ भाँडा नै खरिद गर्ने हो । भाँडा पनि स्टिल र आल्मुनियमको हैन, पित्तल र कपरको मिसावट भएको काँचको कचौरा वा थाल हो । यो दिन फलाम र सिसाको सामान किन्नै हुन्न भन्ने मान्यता छ । म पित्तल र कपरको मिसावट भएको काँचको भाँडा, कुचो, धनियाँलगायत पूजा सामग्री किनेर धनतेरस पूजा गर्ने गरेको छु । यसबाहेक धनतेरसकै अवसर पारेर नयाँ लगानी वा सम्पत्ति जोड्ने गरेको छैन ।

क्षत्री र ब्राह्मणले गुरुपूर्णिमा र सरस्वतीलाई बढी मानेजस्तै वैश्यहरूले धुमधामका साथ धनतेरस मनाउँछन् । मारवाडी समुदायका लागि सबैभन्दा महत्त्वपूर्ण दिन लक्ष्मीपूजा हो । धनतेरसलाई लक्ष्मी भित्र्याउने सुरुवाती दिन मानिन्छ । धनतेरसको अघिल्लो दिन द्वादशीसम्म घर, कार्यालय, व्यावसायिक प्रतिष्ठान सबै ठाउँको कुनाकाप्चामा सरसफाइ गरिन्छ । धनतेरसको दिन भाँडा किन्ने, भोलिपल्ट कपाल काट्ने, नुहाउनेलगायत काम गरेर आफूलाई सफासुग्घर बनाइन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा हुने हो । लक्ष्मीपूजाको भोलिपल्टचाहिँ मारवाडीहरू भेला हुने चलन छ ।

यो चलनको छुट्टै कथा छ । भारत राजस्थानको मारवाडबाट फैलिएकाले हामीलाई मारवाडी भनिएको हो । मारवाड खेतीपाती नहुने मरुभूमिजस्तो थियो । दुःख पाएपछि त्यहाँबाट कामको खोजीमा हाम्रा पुर्खा निस्किए । व्यापारमा संलग्न भए । त्यो पनि कपडाको काम । नेपालमा पनि कपडाकै व्यापारबाट काम सुरु गरेका हुन् । मारवाडी वैश्य जाति हो । हाम्रो पेसा व्यापार हो । व्यापारमा पैसा जोडिन्छ । लक्ष्मी पनि धनसम्पत्ति र पैसासँग जोडिन आउँछिन् । पैसा जोडिएपछि लक्ष्मीपूजाले प्राथमिकता पायो । व्यापार गर्ने मान्छे लक्ष्मीको उपासक बन्यो ।

लक्ष्मीपूजाका लागि धनतेरसमै सामान किन्ने चलन भयो । यो चक्रले गर्दा बढी मारवाडीले मनाउने हो भन्ने मान्यता स्थापित भएको हो । संस्कृति भनेको सर्दै जाने विषय हो । जस्तो– हामी लहानमा बस्दा ५०/६० घर मारवाडी परिवार थियौं । त्यहाँ अन्य समुदायका मानिस पनि बसोबास गर्छन् । उनीहरूले पनि धनतेरस र लक्ष्मीपूजा मनाउन थाले ।

धनतेरसको दिन भारतका दैनिक पत्रिकाहरूमा सामान बिक्री गर्ने छुट योजनाहरूको मात्रै विज्ञापन हुन्छ । व्यापारीले नै यसलाई प्रोत्साहन गरेका हुन् । नेपालमा पनि यस्तै चलन बिस्तारै बढ्दै गएको हो । धनतेरसका दिन छुट योजना ल्याउने गरिन्छ । यो चलन अर्को हिसाबले पनि विस्तार हुँदै गएको हो । जस्तै– मेरा साथीहरू क्षत्री, बाहुन पनि छन् । मैले उनीहरूको संस्कृति मनाउने र उनीहरूले मैले गरेजस्तो धनतेरसलाई प्राथमिकता दिने गरे । संस्कृति बिस्तारै–बिस्तारै सर्दै जाने भएकाले धनतेरस अहिले सबैले मनाउन थाले ।

धनतेरसको दिन किनिएको भाँडा लक्ष्मीपूजाको दिन पूजा गर्ने हो । त्यो सामान वर्षभरि प्रयोग गर्ने हो । दीपावली हाम्रा लागि नयाँ वर्ष पनि हो । व्यापारीको हिसाबकिताब परिवर्तन गर्ने दिन हो यो । लक्ष्मीपूजाको दिन पुरानो खाता बन्द र नयाँ खुला गर्ने हो । पुरानो र नयाँ खाता पूजा गरिन्थ्यो ।

नेपालमा साउनमा सुरु हुने भए पनि नेपाल सरकारले पनि पहिले लक्ष्मीपूजालाई नै आर्थिक वर्षसरह मान्ने गरेको थियो । लक्ष्मीपूजाको दिनलाई आर्थिक वर्ष मानेर आयकर बुझाउन पाइन्थ्यो । सरकारी लेखा प्रणाली बलियो भएसँगै यो व्यवस्था सरकारले मान्न छोड्यो । यस कारणले हामी नयाँ खाता साउनबाटै लागू गर्छौं ।

लक्ष्मीपूजाको दिन साउनको खाता पनि पूजा गरिन्छ । खाता प्रणाली पनि बदलिएको छ । पहिले हिसाबकिताबको अभिलेख कागजी खातामा हुन्थ्यो । पैसा ट्यांकामा राखिन्थ्यो । अहिले पैसा बैंकमा, अभिलेख कम्प्युटरमा हुन्छ । कम्प्युटर पनि लक्ष्मीपूजाको दिन पूजा गरिन्छ । तर, आफ्नो प्राचीन चलन छाड्न नसकिँदो रहेछ । त्यसकारण अभिलेख नराखे पनि हामीले एउटा नयाँ कागजी डायरी किनेर पूजा गर्छौं । अहिले खाता र पैसा सांकेतिक रूपमा मात्रै पूजा गरिन्छ ।

कतिपयले लक्ष्मीपूजा पनि धनतेरसको दिनमै गर्छन् । धनतेरस र लक्ष्मीपूजा सामूहिक हुँदैन । यो पारिवारिक चाड हो । हाम्रो संस्कृतिअनुसार जो जहाँ भए पनि धनतेरसको दिन घरमा आउनैपर्छ । लक्ष्मीपूजाको साँझ पुजारी राखेर पूजा गरिन्छ । भोलिपल्ट बिहान त्यो पूजा विसर्जन हुन्छ ।

मान्यजनसँग आशीर्वाद लिने काम लक्ष्मीपूजाको भोलिपल्ट हुन्छ । हाम्रो परिवार लहानमा हुँदा मान्यजनलाई ढोग्ने र आशीर्वाद लिने गर्थ्यौं । काठमाडौंमा पारिवारिक हिसाबले नजिकको मान्यजनको घरमै पुगिन्छ । अन्य सबै मारवाडीले सामूहिक रूपमा भेट गर्ने चलन छ । पहिले मारवाडी सेवा समितिमै भेला हुन्थ्यौं । अहिले त्यहाँ ठाउँ नपुग्ने भएपछि भृकुटीमण्डप अथवा कुनै पार्टी प्यालेसमा भेला भएर शुभकामना आदानप्रदान गर्छौं ।

धनतेरस समुद्र मन्थनबाट भगवान् धनवन्तरिको प्रकटसँग सम्बन्धित पर्व हो, जसले स्वास्थ्य, दीर्घायु र सादगीको सन्देश दिन्छ । यसकारण धनतेरसलाई भड्किलो र विकृतिपूर्ण नबनाई सामान्य रूपमै मनाउन सबैलाई आग्रह गर्छु ।

(नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासँग यज्ञ बञ्जाडेले गरेको कुराकानीमा आधारित)