काठमाडौँ, कात्तिक १ : हामी तिहारको पूर्वसन्ध्यामा छौं । तिहार फूलहरूकै पर्व हो । फूल नहुँदो हो त तिहार कस्तो हुँदो हो ! दिदीबहिनीले भाइ–टीकापछि फूलमाला लगाइदिने प्रचलनले तिहार पर्वको सौन्दर्य बढाएको छ । फूल भावनात्मक सम्बन्ध साट्ने माध्यम हो । यो हो– प्रेमको प्रतीक, सम्मान, आदारभाव प्रकट गर्ने साधन । र, ‘देउता’ लाई अर्पण गर्ने प्रसादरूपी उपहार ।
फूलको अनुपम सौन्दर्य देखेर मान्छे मोहित हुन्छ । फूलदेखि मान्छे सुवासित हुन्छ । टपक्क टिपेर शिरमा सिउरिन हतारिन्छ, मान्छे । फूल हेर्न, त्यसको समीप जान, त्यसलाई स्पर्श गरी आनन्द लिन, सुगन्धको सुखानुभूति गर्न लालायित हुन्छ, मान्छे ।
संस्कृतिविद् गोविन्दराज टण्डन भन्छन्, ‘सयपत्री फूलमा सयौं पत्र हुने भएकाले तिहारमा सयपत्री फूलको माला लगाइदिएर दिदीबहिनीले दाजुभाइको समृद्धि र सयौं वर्ष आयुको कामना गर्छन् ।’
तिहार, फूल अनि मालाको सम्बन्ध र महत्त्व पौराणिककालदेखि नै रहँदै आएको मानिन्छ । वरिष्ठ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘चाडपर्व ऋतु र मौसमसँग सम्बन्धित छन् । मखमली, सयपत्री र गोदावरी रैथाने फूल त होइन, तर यी सद्भावका प्रतीक र दीर्घजीवी भएकाले तिहारमा प्रयोग गर्न थालिएका हुन् । वनस्पतिविद् श्रेष्ठ भन्छन्, ‘नेवारी परम्परामा नभई नहुने फलमा बिमिरो, ओखर र कटुस हुन् भने फूलमा मखमली ।’
तिहारमा प्रयोग गरिने सबै फूल घर–खेतीका हुन् । यी फूलहरू कृषिउत्पादनसँग जोडिएका छन् । किसानीखेती प्रणालीभित्र रहेकाले पनि फूललाई तिहार पर्वमा सम्मानपूर्वक मालाका रूपमा पहिरिने चलन चलाइएको वनस्पतिविद् श्रेष्ठ बताउँछन् ।
एक कथनअनुसार, परापूर्वकालमा यमराजकी बहिनी यमुनाले दाजुलाई आफ्नो घरमा बोलाई यमपञ्चक अवधिभर घरमै राखेर सप्तरंगी टीका लगाइदिएकी थिइन् । त्यसपछि तिहार पर्व सुरुवात भएको हो । यस पर्वमा दिदीबहिनीले दाजुलाईलाई सप्तरंगी टीका लगाइदिने र साथमा विभिन्न थरीका सुगन्धित फूलको माला लगाइदिने चलन छ । तिहारको मुख्य आकर्षण नै फूलको माला हो ।
तिहारको यमपञ्चकमा हरेक दिन फूलको प्रयोग महत्त्वपूर्ण हुन्छ । लक्ष्मीपूजाको दिन सयपत्री, गोदावरी फूल अर्पण गरी धनर समृद्धिको कामना गर्दै पूर्जा गरिन्छ । गाई तिहारमा फूलको माला लगाइदिएर गाईलाई पूजा गर्ने चलन छ । तिहारमा गोरुको समेत पूजा गरिन्छ । यसले कृषिप्रधान नेपाली समाजमा गाई–गोरुको महत्त्व र सम्मान झल्काउँछ । कुकुर र कागको समेत यही पर्वमा पूजा हुन्छ र त्यतिबेला पनि फूल प्रयोग गरिन्छ ।
तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको बढी प्रयोग हुने गर्छ । मखमली लामो समय नसुक्ने, टिकिराख्ने भएकाले यसलाई दीर्घायु र अमर प्रेमको प्रकृतिका रूपमा लिइन्छ ।
संस्कृतिविद् टण्डन भन्छन्, ‘भाइटीकामा दुबोको माला पनि लगाइदिने चलन छ । दुबोलाई कहिल्यै नओइलाउने रूपमा लिइन्छ ।’ माला लगाइदिँदा फूलजस्तै जीवन सुन्दर बनोस् र कहिल्यै नओइलियोस भन्ने कामना पनि गरिन्छ । भनिन्छ, दिदीबहिनीले लगाइदिने फूलको माला आत्मीयताको सुगन्ध पनि हो । जसले चेली–माइतीको सम्बन्ध वर्षौंसम्म टिकाइराख्न भूमिका खेल्ने विश्वास गरिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कैशिला रिसाल भन्छिन्, ‘फूलहरू उनेर बनाइएको माला एकता र शक्तिको प्रतीकात्मक रूप हो । परिवारमा स्नेह, भावनात्मक सम्बन्धको जीवन्तताको संकेत हो । धार्मिक हिसाबले फूललाई पवित्र मानिन्छ । तिहारमा फूलमाला लगाइदिएर भावनात्मक सम्बन्ध अटुट राख्ने प्रयास गरिन्छ ।’ फूलको माला, टीका र दियोको बत्तीले मृत्युलाई छल्न सकिन्छ भन्ने लोकविश्वास पनि रहिआएको रिसाल बताउँछिन् ।
फूललाई सौन्दर्य र शुभ संकेतको प्रतीकका रूपमा पनि लिइन्छ । फूल अर्पणले देवीदेवता खुसी हुने र बरदान पाइने जनविश्वास छ । फूल घर–आँगन सजाउन पनि प्रयोग गरिन्छ । मलमखी फूल वर्षमा एक पटक तिहारको समयमा मात्रै फुल्नुले पनि नेपाली समाजमा यसको महत्त्व बढी छ ।
संस्कृतविद् ऋषिराम पोखरेल भन्छन्, ‘तिहार पर्व कात्तिकतिर पर्छ । यो धेरै फूल फुल्ने समय हो । यही बेला फुल्ने मखमली, सयपत्री र गोदावरी सुन्दरता, शोभा र धनप्राप्तिका लागि शुभ मानिन्छन् । त्यसैले पनि तिहारमा यी फूल प्रयोग गर्ने चलन बसेको हो ।’ घरघरमा लक्ष्मीको आगमन होस् र धनधान्य प्राप्ति होस् भनेर लक्ष्मी पूजामा पनि फूलको प्रयोग गरिन्छ । संस्कृतिविद् पोखरेल भन्छन्, ‘हिन्दु धर्म ग्रन्थअनुसार विष्णुको नाभीबाट कमलको फूल उत्पन्न हुन्छ । कमलको फूलमाथि भगवान् ब्रह्मा विराजमान हुन्छन्, जसले सृष्टिको रचना आरम्भ गरेका हुन् । यसैले फूल सबैलाई आकर्षक लाग्छ ।’
जब वसन्त ऋतुमा फूलहरू फुल्छन्, तब वातावरण रमाइलो बन्छ । वातावरण सुगन्धित हुन्छ । उत्सवको अनुभूति हुन्छ । फूलले दुःख भुलाउँछ, पीडा कम गर्छ र आशा जगाउँछ । मानिसहरू फूलहरूसँग रमाउछन्, फूल देखेर खुसी हुन्छन्, प्रफुल्लित हुन्छन् । फूल उपहार आदान–प्रदानको एक महत्त्वपूर्ण साधन पनि हो ।
मानिस जन्मिन्छ, फूलले स्वागत गर्छ । विवाह हुन्छ फूलले सजाउँछ । जब मृत्यु हुन्छ फूलले श्रद्धा प्रकट गर्छ । जन्मदिन, पूजा, धार्मिक अनुष्ठान र पर्वमा फूलको प्रयोग हुन्छ । जीवनको प्रत्येक मोडमा फूल उपयोग हुन्छ । कहिले उत्सवका रूपमा त कहिले सम्झनाका रूपमा । यसैले त मानव–फूल सम्बन्ध अनन्त छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘फूल’ निबन्धमा लेख्छन्, ‘मानिस पनि एउटा फूलको कोपिला हो, जसमा भावको रंग चढ्दछ, सहृदयको कोमलता आउँछ, विचारको संगीतद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी मगमगाउँछ ।’
प्रकृति बोल्दैन तर फूलहरू बोल्छन् । तिनीहरू रङमा बोल्छन्, सुगन्धमा बोल्छन्, मौनतामा बोल्छन् । रातो गुलाबले प्रेमको कथा सुनाउँछ, सेतो कमलले शान्तिको सन्देश दिन्छ । नेपालमा पाइने मुख्य फूलहरू सयपत्री, मखमली, गुलाब, चमेली, तरबारे, गोदावरी, जाइफूल, सूर्यमुखी, लाहुरे, लालुपातेलगायत हुन् । सन् १८०२ मा फ्रान्सिस बुखानन् र हेमिल्टनले नेपालको वनस्पति प्रजातिबारे अध्ययन गरेका थिए । त्यसयता नेपालले १ हजार ६ सय ५८ फूल फुल्ने वनस्पति प्रजाति पत्ता लगाएको छ भने तीमध्ये ३ सयभन्दा बढी नेपालमा मात्रै पाइने प्रजाति छन् ।
नेपाली चाहे सहरमा बसुन् या गाउँमा, आफ्नो घर–बगैचामा फूल रोप्छन् । शहरबजारमा कौसी र कोठासमेत फूल सजाएर राख्ने चलन बढ्दो छ । यसले घरलाई सुगन्ध बनाउछ ।
मखमली ग्वाटेमाला र पनामाका पहाडी क्षेत्रमा उत्पत्ति भएको र २० औं शताब्दीको मध्यतिर मात्रै हामीकहाँ आइपुगेको पाइन्छ । सन् १९५०–१९६० को दशकदेखि मखमली फूल तिहार पर्वमा भाइटीकाको दिन लगाइने मालामा प्रयोग गर्न थालिएको थियो । ब्रिटिसकालको व्यापारिक र बोटानिकल सम्बन्धमार्फत यो दक्षिण एसियामा आएको थियो । त्यसपछि बोटानिकल गार्डेन र निजी बगैंचामा यसको खेती हुँदै सर्दैसर्दै गयो ।
सयपत्री फूलको उत्पत्ति मेक्सिको र ग्वाटेमालामा भएको मानिन्छ । यसलाई ‘म्यारिगोल्ड’ वा ‘म्याक्सिकेन म्यारिगोल्ड’ पनि भनिन्छ । सयपत्री २० औं शताब्दीको मध्यतिर युरोप हुँदै भारतको व्यापारमार्गबाट नेपाल प्रवेश गरेको इतिहास छ । यो फूल नेपालमा भित्रिएपछि तिहार पर्वमा पूजा, घरको सजावट र भाइटीकामा मालाका रूपमा प्रयोग गर्न थालिएको वनस्पतिविद् श्रेष्ठ बताउँछन् ।
पर्वमा बढ्न थालेपछि मखमली र सयपत्री फूलको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायत ५२ जिल्लामा व्यावसायिक फूलखेती हुने गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार पुष्प व्यवसायीले आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६८ करोडभन्दा बढीको कारोबार गरेका थिए । यहाँ उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, श्रीलङ्का, कतार, जर्मनी, भारत लगायत मुलुकमा निर्यात गरिन्छ । विश्वमा वार्षिक करिव १० अर्ब डलर बराबरको फूलको निर्यात–व्यापार हुने गरेको तथ्यांक छ ।
– विश्वास नेपाली