07/09/2025, 22:40:49

प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत


काठमाडौँ, २५ असार : प्रतिनिधिसभामा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले उक्त विधेयक प्रस्तुत गर्नुभयो ।

त्यसक्रममा मन्त्री सुडीले बाललिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि सो सम्बन्धी ऐनलाई समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताउनुभयो । “बाल न्याय प्रणालीलाई सहज, सरल र बालमैत्री बनाउन तथा बाल संरक्षण प्रणालीलाई संस्थागत र सुदृढ गर्दै बालअधिकारको सबै पक्षलाई सन्तुलन कायम गर्न आवश्यक परेकाले उक्त विधेयक संशोधन गर्न लागिएको हो”, मन्त्री सुडीले भन्नुभयो ।

त्यसअघि मन्त्री सुडीले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव राख्नुभएको थियो । बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख इन्दिरा रानाले उक्त प्रस्तावमाथि कुनै पनि सांसदको विरोधको सूचना प्राप्त नभएकाले सो विधेयक प्रस्तुत गर्न मन्त्री सुडीलाई अनुमति दिनुभएको थियो ।

बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आव २०८०/८१) पेस गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ