कर्णाली, २३ असार : जाजरकोट भूकम्प, सहिद स्मृति र घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको भत्ताको भुक्तानीको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दुवैले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ ।
प्रदेशसभाको आकस्मिक समयमा सत्तापक्ष नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंह र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले मङ्गलबहादुर शाहीले आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकमा सदस्य सिंहले जाजरकोट भूकम्पपछि आपत्कालीन अवस्थामा काम गरेका निर्माण व्यवसायीलाई सरकारले भुक्तानी दिन आलटाल गरेको भन्दै यस विषयमा सरकारले उचित जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो । तत्पश्चात् उहाँ उभिर बैठक अवरोध गर्नुभयो ।
त्यसलगत्तै माओवादी केन्द्रका प्रदेशसभा सदस्य शाहीले सहिद स्मृति भत्ता र युद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको जीवन निर्वाह भत्ताको विषयमा प्रश्न उठाउनुभयो । प्रक्रिया पु¥याउँदा पनि जुम्ला तातोपानी गाउँपालिकामा सहिद स्मृति र जीवन निर्वाह भत्ता रकम किन गएन भन्दै सदस्य शाहीले आपत्ति प्रकट गर्नुभयो ।
यस विषयमा मुख्यमन्त्रीको जवाफ नआएसम्म बैठक अगाडि बढ्न नसक्ने भन्दै प्रतिपक्षका प्रदेशसभा सदस्यले बैठक अवरोध गरेका थिए । सभामुख नन्दा गुरुङले सरकारको जवाफका लागि समय दिन सत्ता र प्रतिपक्षका सदस्यलाई आग्रह गरे पनि बैठक अवरोध जारी रहेपछि उहाँले बैठक स्थगित भएको जानकारी दिनुभयो ।