07/05/2025, 22:56:51

मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाले भूमिका महत्त्पूर्ण छ : सभापति देउवा


काठमाडौँ, २१ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।

जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाको भूमिका महत्त्पूर्ण रहेकाले यसलाई भावी पुस्ताले पनि स्मरण गर्ने धारणा राख्नुभयो । अहिले मुलुक गणतन्त्रलाई सुदृढीकरण गर्दै आर्थिक सामाजिक रुपान्तरणको यात्रामा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।

गिरिजाबाबु नभएको भए मुलुकमा अहिल्यै गणतन्त्र आउने थिएन, गणतन्त्र ल्याउन उहाँले हिम्मत गर्नुभयो, जनमत सिर्जना गर्नुभयो”, सभापति देउवाले भन्नुभयो, “यद्यपि, अहिले केही समस्या छन्, तिनलाई समाधान गर्दै लैजानुपर्छ ।

समावेशी राजनीतिक प्रणालीले सबै वर्ग, क्षेत्र र समुदायको राज्य संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै उहाँले मुलुकलाई आथिक रूपमा सम्पन्न बनाएर जनतालाई त्यसको लाभ दिलाउन सबै दल क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले अब आर्थिक सामाजिक रुपान्तरणको पनि नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “प्रजातन्त्र स्थापना, पञ्चायत र राजतन्त्र अन्त्य तथा संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धिको मार्ग अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले हरित ऊर्जा, आधुनिक कृषि प्रणाली, उन्नत बाली प्रवर्द्धन तथा किसानलाई प्रविधिसँग जोड्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिँदै धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटन प्रवर्द्धन गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताउनुभयो ।

कांग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गिरिजाबाबु क्रान्ति र शान्तिको नायकका रूपमा रहनुभएको बताउनभुयो । “गिरिजाबाबु जे बोल्नुहुन्थ्यो, त्यो गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा विजेता खेलाडीलाई प्रोत्साहित गर्न सरकारले विभिन्न पुरस्कार र सम्मानको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले जनताको सङ्घर्षको माध्यमबाट प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभभयो । उहाँले संविधानमा भएको जनअधिकार कार्यान्वयन गर्न एकजुट हुनुपर्ने उल्लेख गर्दै राजनीतिमा युवा पुस्ताको सहभागिता अनिवार्य रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सभापति देउवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताका विजेता नेपाली खेलाडी तथा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी उम्मेदवारलाई सम्मान गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ