मेड्रिड (स्पेन), २० असार : स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा थुप्रै विकास निर्माणका काम भएकाले नेपालमा केही हुँदैन भन्ने भ्रम त्यागेर जतिसक्दो छिटो स्वदेश फर्कन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।
स्पेनका लागि नेपाली राजदूतको निवासमा नेपाली समुदायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले बाटाघाटा पहिलाभन्दा धेरै बनेको एवं पहिला आउने र अहिले नेपाल आउने विदेशीले पनि नेपालको विकासको गति बढेको प्रतिक्रिया दिने गरेको स्मरण गराउनुभयो ।
“अहिले नयाँ शक्ति भन्ने र ठूला दलको विरोध गर्ने केही पक्षहरूले सामाजिक सञ्जालमार्फत अनेक निराशा र भ्रम छर्ने गरेकाले त्यस्ता भ्रममा नपरी स्वदेशमा केही हुँदैछ र केही गर्नुपर्छ भन्ने भावनाका साथ तपाईँहरू लाग्नुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नयाँ शक्तिहरूको हल्ला देखिसकिएको छ । नयाँ दलको उदय अगाडि नै सहकारीका नाममा करोडौँ भ्याइसकेका रहेछन् । विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सञ्जालबाट भावनात्मक रूपमा उत्तेजित बनाएर प्रचार गरे पनि यथार्थमा नयाँ दलको कुनै अर्थ र भविष्य छैन ।”
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म यो सत्ता साझेदारी रहने र अबको एक वर्षपछि नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमति बमोजिम आफूले कांग्रेस सभापित शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पुनः स्मरण गराउनुभयो । उहाँले राजनीतिक दलहरूमा देखिएका कतिपय आन्तरिक समस्याले विकास, समृद्धि र स्थिरताको यात्रामा कुनै अवरोध नहुने विश्वास व्यक्त गर्नुभयो ।
“कांग्रेसभित्र देखिएको आन्तरिक समस्या बाहिर छरपस्ट नभए हुन्थ्यो तर पनि उहाँहरूले सम्हाल्नुहुन्छ होला भन्ने मलाई विश्वास छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “एमालेभित्र पनि विद्या भण्डारीलाई अघि सारेर मेराविरुद्ध केन्द्रित भएर केही विरोध गरिएको छ । स्वयं विद्या भण्डारीले केही भन्नुभएको छैन । हाम्रो पार्टीले यस्ता कुराहरूको सामना गर्दै आएको छ र फेरि पनि गर्नेछ । आधुनिक नेपाल बनाउने र गरिबी हटाएर अर्थतन्त्र गतिशील बनाइनेछ ।”
उहाँले विदेशमा रहेर आर्जन गरेको श्रम, सीप, ज्ञान र पुँजीलाई स्वदेशको विकास लगाउन आग्रह गर्दै भन्नुभयो, “तपाईँहरूलाई देशको सन्तानले प्रतिक्षा गरिरहेको छ । तपाईँहरू जे जति आर्जन गर्नुछ, त्यो गरेर छिटो स्वदेश फर्कनुस् । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ । तपाईँहरू एकताबद्ध रहेर काम गर्नुहोस् ।”
सो क्रममा प्रधानमन्त्री ओलीलाई गैह्रआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का र कार्यबाहक महाहसचिव सुरज विष्ट, प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्रीले अलगअलग ज्ञापनपत्र दिनुभयो ।
आफूहरूको मागबमोजिम पोर्चुगलमा नेपाली दूतावास स्थापना भएकामा आभार व्यक्त गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै दोहोरो नागरिकतालगायत अन्य कानुनी हक अधिकार सुस्पष्ट गराई मातृभूमिसँग जोड्ने प्रबन्धका लागि आग्रह गर्नुभयो । यस्तै प्रवासी नेपाली मञ्च, पोल्याण्ड अध्यक्ष ईश्वर देवकोटाले वार्सामा स्थायी कन्सुलर कार्यालय खोल्न माग गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीका सचिव एवं सङ्गठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गानालगायत सहभागी हुनुहुन्थ्यो ।
स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको विकासका लागि लगानीसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मेड्रिडका कार्यक्रममा व्यस्त हुनुभएका प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गर्दै हुनुहुन्छ ।