07/01/2025, 19:11:49

राष्ट्रियसभाः सांसदहरुद्वारा उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण


काठमाडौँ, १७ असारः सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसमेत सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद उदयबहादुर बोहराले देशभर किसानलाई आवश्यक मल उपलब्ध नभएकोतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । “झन्डै १३ लाख मेट्रिक टनसम्म मलको माग छ । सरकारले जम्मा चार लाख मेट्रिक टन मात्र आयात गर्न सकेको छ । किसानलाई पर्याप्त मल उपलब्ध गराउन सकिएको छैन,” उहाँले भन्नुभयो ।
सांसद नरबहादुर विष्टले निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका किसान मर्कामा परेको बताउनुभयो । यी प्रदेशका विभिन्न जिल्लाका बजार समेत अस्तव्यवस्त भएकोतर्फ ध्यानार्कषण गराउँदै क्षति न्यूनीकरण र उद्धारका लागि सरकारको योजनाबारे गृह मन्त्रालयले सदनलाई जानकारी दिन सभाअध्यक्षमार्फत माग गर्नुभयो ।
सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका अतिवृष्टिले प्रभावित भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यी ठाउँहरुमा ढल निकासको उचित व्यवस्थापन नभएको र खोलाको छेउछाउ बस्ती विकास भएको भन्दै स्थानीय तहको ध्यानाकर्षण गराउनुभयो । सांसद मिश्रले निजामती विधेयक पारित गर्दा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा हेरफेर भएको पाइएकाबारे समेत छानबिन गर्न माग गर्नुभयो ।
यस्तै, सांसद मदनकुमारी साह गरिमाले सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने हुलाकी सडकअन्तर्गत कर्णाली नदीको पुलको बर्दियातर्फको भाग क्षतिग्रस्त भएकाले तत्काल मर्मत गर्न ध्यानाकर्षण गराउनुभयो ।
सांसद मोहम्मद खालिदले चामलमा आत्मनिर्भर हुने सरकारले लिएको लक्ष्यबारे सचेत गराउनुभयो । “तराई मधेशको २२ जिल्लामा चैते धानको उत्पादनको पनि योजना ल्याउनुभएको थियो । मध्य असारसम्म २० प्रतिशत मात्र रोपाइँ भएको छ,” उहाँले भन्नुभयो, “यस वर्ष पोहोरभन्दा रोपाइँ कम हँुदैछ । यसरी कसरी लक्ष्य पूरा गर्ने ?”
सांसद राजेन्द्र लक्ष्मी गैरेले वर्षाका कारणले सडक क्षतिग्रस्त हुँदा आवतजावतमा समस्या भएको भन्दै जोखिमपूर्ण यात्राबारे सचेत गराउनुभयो । सांसद सोनामगेल्जेन शेर्पाले असारे विकास टिकाउ नभएको र यसले थप समस्या निम्त्याइरहेको भन्दै यसलाई निरुत्साहित गर्न सुझाव दिनुभयो ।
सांसद भुवनबहादुर सुनारले सुनचाँदी व्यवसायीको कर खारेज गर्ने मागप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गोमादेवी तिमिल्सिनाले तराईका विभिन्न जिल्लामा विद्युत्का तारहरु व्यवस्थापन नगर्दा दुर्घटना बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।
सांसद दुर्गाकुमारी गुरुङले कर्णाली प्रदेशका जनता रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वदेशमा उद्योग सञ्चालन र सीपमूलक तालिम उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गर्नुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ