06/29/2025, 21:21:00

‘वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाऔँ’


काठमाडौँ, १५ असार: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन, सर्पदंशका घटनाबाट आमनागरिकको जीवन जोगाउन तथा भौतिक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की इन्दिरादेवी गौतमले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “वैदेशिक रोजगारीका क्रममा दुर्घटना हुँदा उपचार र क्षतिपूर्ति नपाउने, शव ल्याउन हुने ढिलाइले पीडितका परिवारले थप पीडा व्यहोरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षामा लाग्न सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

सोही पार्टीकी तुलसाकुमारी दाहालले तराई क्षेत्रमा सर्पदंशका घटना वृद्धि भइरहकाले आमनागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै पीडितलाई उपचारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत विभिन्न खोला तथा नदीमा पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुमित्रा विसीले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा भएको सुधारको सराहना गर्दै शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

बजेटआश्रित दुई विधेयक टेबुल

बैठकमा बजेट आश्रित दुई विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी दिँदै ती विधेयक टेबुल गर्नुभएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका विषयगत समितिमा रहेका सांसदको नाम हेरफेरबारे जानकारी दिनुभयो । सांसद नारायणकाजी श्रेष्ठलाई विधान व्यवस्थापन समितिबाट विकास, आर्थिक मामिला तथा सुशासन समितिमा र झक्कुप्रसाद सुवेदीलाई विकास समितिबाट विधायन व्यवस्थापन समितिमा समावेश गरिएको । उक्त हेरफेरप्रति बैठकले सहमति जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ