06/22/2025, 14:49:31

लक्ष्यअघि नै पूरा भयो बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ स्तरोन्नति


म्याग्दी, ८ असार : सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०८२ असार १५ गतेसम्म ठेक्काको म्याद भएको योजनाको ठेकेदार कम्पनीले २० दिनअघि नै सम्पन्न गरेको आयोजनाका इञ्जिनियर वीरबल सुनारले बताउनुभयो । “सम्झौताअनुसारको परिणाममा नाली, पर्खाल निर्माण र ढलान गर्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “प्राविधिक नापजाँच पनि भइसकेको छ भने भुक्तानी दिन बाँकी छ ।

बेनी–८ कालीपुलबाट दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म नौ सय मिटर लम्बाइमा पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिएको सडक निर्माण गरिएको छ । रङरोगन भएको सडकमा ‘आइ क्याट’ राखिएको छ ।

अन्य आयोजना पनि लक्ष्यअघि नै सकिए

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताउनुभयो । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ । निर्माण कम्पनीले जिम्मा लिएका म्याग्दीका अन्य दुई योजना पनि लक्ष्यअघि नै सम्पन्न भएका छन् ।

बेनी नगरपालिकाले सञ्चालन गरको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्यभन्दा तीन महिनाअघि नै सम्पन्न भएको छ । विसं २०८१ पुस १९ गते रु दुई करोड नौ लाखमा निर्माण कम्पनीबीचमा ठेक्का सम्झौता गरेको योजना २०८२ असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशबिन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति गर्ने काम चैतमा नै सकिएको थियो ।

बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत तीन किलोमिटर दूरीको बेनी–गलेश्वर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने ठेक्का सम्झौता एक वर्षअघि नै सम्पन्न गर्नुभएको थियो । निर्माण कम्पनीले २०७९ पुस १७ गते रु १२ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको उक्त योजना २०८० पुसमा सकिएको थियो । “लक्ष्यअघि नै काम सम्पन्न गरे पनि भुक्तानी समयमा नपाउँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “झल्झट र झमेलामा पारेर भुक्तानीमा ढिलासुस्ती गरिदिदाँ निराश भएको छु ।

चक्रपथमा पहलपहल

नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथै आकर्षक देखिएको छ । नदी किनारको सडकमा साँझ बिहान पैदलयात्रा गर्न र गर्मी छल्न बजारवासीको चहलपहल बढेको छ ।

प्राविधिकहरूका अनुसार अन्तिमपटक ढलान भएको २१ दिनपछि सडकमा यातायात सञ्चालन गर्न सकिनेछ । क्रमागत योजनाअनुसार आगामी वर्ष दरवाङ बसपार्क ढलान र टर्मिनल भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमा योजना प्रस्ताव गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत बेनीबजारस्थित चक्रपथ स्तरोन्नति गरिएको हो”, उहाँले भन्नुभयो, “बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज, बजार क्षेत्रको भित्री भागमा सवारीको चाप र दुर्घटनाको जोखिम घटेको छ ।

बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीमार्फत पक्की पर्खाल निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएपछि किनारमा माटो राखेर फिलिङ गरेर सडक बनाइएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ