पाटन (ललितपुर), १ असारः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले व्यावसायिक हक–हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको उल्लेख गर्नुभयो । दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
“कठिन भौगोलिक अवस्थाका कारण देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्न जटिलता रहँदै आएको छ, पछिल्लो समय दिनहुँजसो भइरहेका सवारी दुर्घटनाले आम नागरिकको जीवन र सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ, कांग्रेसले यी समस्यालाई गम्भीरतापूर्वक लिएको छ,” सभापति देउवाले भन्नुभयो ।
यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ लोकतान्त्रिक यातायात व्यवसायी सङ्घमा आबद्ध व्यक्तिको एकताबद्ध प्रयास र सहकार्य आवश्यक हुने उहाँले बताउनुभयो । “लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान् यातायात व्यवसायीको हक हितका लागि कांग्रेसको सदैव साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु”, सभापति देउवाले भन्नुभयो ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले विभागहरुको काम पार्टीको क्रियाशीलतासँगै त्यस क्षेत्रमा रहेका समस्याबारेमा पैरवी गर्ने रहेको उल्लेख गर्दै पार्टीको विज्ञ संस्थाका रुपमा विभिन्न विभागले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“सार्वजनिक यातायात लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, सार्वजनिक यातायातको क्षेत्र प्रभावकारी, सुरक्षित र बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ, काठमाडौँको ट्राफिक जामले वार्षिक रु ४० अर्ब खेर गएको छ, यहाँको सार्वजनिक यातायात बलियो र प्रभावकारी भए यी सबै समस्या समाधान हुन्छन्, हाम्रो सार्वजनिक यातायात अत्यन्तै चुनौतीपूर्ण छ,” उहाँले भन्नुभयो ।
धेरै जसो देशमा सार्वजनिक क्षेत्रमा साझेदारी लगानी भएकाले सफल हुँदै गएको उल्लेख गर्दै हाम्रो देशमा पनि सार्वजनिक क्षेत्रमा एकल निजी लगानीलाई भन्दा साझेदारी लगानीलाई प्रोत्साहित गरेर व्यवस्थापन गर्न जोड दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । महामन्त्री थापाले बन्दकोठामा हुने नीतिगत छलफललाई बढी प्रभावकारी बनाएर उपभोक्ता मैत्री बनाउन कानुन बनाउन लागिपर्ने उल्लेख गर्दै विभागलाई सुझाव दिन आग्रह गर्नुभयो । उहाँले नाफामा केन्द्रित हुने निजी क्षेत्रको चरित्र अनिवार्य भएको भन्दै यातायात क्षेत्रलाई नाफामुखीभन्दा सेवामुखी, प्रविधिमैत्री र व्यवस्थित बनाउन थप काम गर्न पार्टी तत्पर रहने बताउनुभयो । उहाँले सौहार्द्रपूर्ण तरिकाले सङ्घको नेतृत्व चयन भएकामा खुसी व्यक्त गर्नुभयो ।
पार्टी केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले यातायात क्षेत्रमा विगतमा आफूले विभिन्न अवरोध झेल्दै नेतृत्वदायी भूमिका खेलेको जिकिर गर्दै सबै किसिमको व्यवस्थापन गरी व्यवस्थित प्रबन्धका साथ यातायात व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले यातायात क्षेत्रमा नेपालीको ठूलो लगानी रहेको र नेपाल सरकारलाई कर तिर्ने महत्वपूर्ण क्षेत्र यातायात क्षेत्र भएको बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य एवम् सार्वजनिक यातायात समन्वय विभाग प्रमुख शिवप्रसाद हुमागाईंले पार्टीको संरचनाभित्र रहेको लोकतान्त्रिक यातायात व्यवसायी सङ्घलाई प्रदेश र जिल्ला तहमा समेटिएको बताउनुभयो । उहाँले रु १३ खर्बभन्दा बढी लगानी भएको सार्वजनिक यातायात क्षेत्रले सरकारी राजस्वका साथै रोजगारीमा समेत महत्वपूर्ण योगदान पु¥याएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस काठमाडौँका सभापति सवुजकृष्ण बानियाँले सार्वजनिक सेवाको क्षेत्रमा खटिएर लागेको पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घले समयमै सभ्य रुपमा महाधिवेशन सम्पन्न गरेर महत्वपूर्ण जिम्मेवारी र उत्कृष्ट भूमिका निर्वाह गर्दै पार्टीलाई बलियो बनाउने काम गरेको बताउनुभयो । पार्टीका ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीभित्रको अन्तरविरोध र वैमनस्यता हटाउँदै पार्टीलाई बलियो बनाउन १५औँ महाधिवेशनमा सबै तहमा सर्वसम्मत नेतृत्व चयनको अभ्यास अवलम्बन गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट र नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले यातायात व्यवसायलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाइनुपर्ने बताउनुभयो । सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन गत वैशाख १० र ११ गते काठमाडौँमा सम्पन्न भएको थियो ।