काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरअगावै हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरअगावै हुने बताउनुभएको हो ।
“विसं २०८४ को निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने भ्रममा नपर्नुहोस्, शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भने अधिवेशन २०८३ मङ्सिरअगावै हुन्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले आगामी असार मसान्तभित्र देशैभरका पार्टी क्रियाशील सदस्यको नवीकरण गरिसक्ने बताउनुभयो । सदस्यता नवीकरण सकिएपछि नयाँ क्रियाशील सदस्य खोलिने उहाँको भनाइ थियो । उहाँले पार्टीमा गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कांग्रेस नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पार्टीभित्र विद्यमान गुटगत राजनीतिको अन्त्य आवश्यक भएको बताउनुभयो । उहाँले कांग्रेसको सङ्गठन निर्माणमा पार्टी कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले क्रियाशील हुन युवा पुस्तालाई आह्वान गर्नुभयो ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)का सभापति ख्यामराज तिवारीले पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । हरेक कार्यकर्ताको मूल्याङ्कन पार्टीमा हुनुपर्ने उहाँको भनाइ थियो ।