काठमाडौं, ३१ जेठ : अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’बाट नेपाली सिनेमामा डेव्यु गरेका साउथ तथा बलिउडका कलाकार प्रदीप रावत फेरि नेपाली सिनेमामा अभिनय गर्ने भएका छन् । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने लागेको सिनेमा ‘आ बाट आमा’मा ‘गजनी’ भिलेन रावतले अभिनय गर्न लागेका हुन् । उनले चन्द्रको निर्देशनमा केही भोजपुरी सिनेमामा पनि अभिनय गरेका थिए ।
निर्देशक पन्तका अनुसार सिनेमामा प्रदीपले अभिनेता पल शाहको बुबाको भूमिका निभाउनेछन् । उनले भने, ‘उहाँ नितान्त नेपाली स्टाइलको भूमिका निभाउँदै हुनुहुन्छ । सिनेमाको कथा र पात्र एकदमै मन परेपछि उहाँ काम गर्न राजी हुनुभएको हो ।’ प्रदीपले ‘ह्रस्व दीर्घ’मा हिन्दी भाषामा संवाद बोलेका थिए । ‘आ बाट आमा’मा भने उनले बोल्ने संवाद नेपाली भाषामा स्वरांकन गरिने जनाइएको छ ।
अभिनेत्री विपना थापाले ‘आ बाट आमा’मा मुख्य भूमिकामा अभिनय गर्दैछिन् । सिनेमामा पल शाह उनको छोरा बनेर देखिने जनाइएको छ । आमा र छोराबीचको भावनात्मक सम्बन्धमा कथामा बन्न लागेको सिनेमाको आगामी फागुन १५ गतेलाई प्रदर्शन मिति तय भइसकेको छ । अभिमन्यू निरवीको स्क्रिप्ट लेखन रहेको सिनेमाको आगामी भदौबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण पक्ष छ ।