काठमाडौँ, ३१ जेठ : छायांकनको तयारीमा रहेको सिनेमा ‘महाराजधिराज’ बाट अभिनेता पल शाह बाहिरिएका छन् । बिहीबार निर्माण टिमले उनीसँग सिनेमालाई लिएर भएको सम्झौता अन्त्य गरिएको घोषणा गरेको हो । सिनेमाका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै आपसी सहमतिमा दुई पक्षबीचको सम्झौता अन्त्य गरिएको जनाएका छन् ।
सूचनामा लेखिएको छ, ‘छत्रेश्वरी म्यानेजमेन्ट र यहाँ (पल शाह)बीच ‘महाराजधिराज’ निर्माणका लागि २०८१ कात्तिक १४ गते भएको सम्झौतालाई दुवै पक्षको आपसी सहमतिमा आजका मितिदेखि औपचारिक रूपमा अन्त्य गरिएको जानकारी गराउन चाहन्छौं ।’
सम्झौताको अन्त्यसँगै यो सिनेमाको विषयलाई लिएर दुवै पक्षबाट कुनै पनि प्रकारको कुराकानी नहुने समेत सूचनामा उल्लेख छ । ‘यदि कुनै पक्षबाट यो विषयलाई उचालेर कुनै आर्थिक वा सामाजिक हानि-नोक्सानी हुन गएमा सोको जिम्मेवारी सम्बन्धित पक्षले बेहोर्नेछ भनी हामी दुवै पक्ष कबुल गर्दछौं,’ सूचनामा लेखिएको छ ।
गत माघमा बसन्त पञ्चमीको अवसर पारेर अभिनेता पल शाहको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै ‘महाराजधिराज’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको थियो । तर, छायांकनको संघारमा आएर सिनेमाबाट पल बाहिरिएका हुन् । सिनेमाबाट अलग भएसँगै उनले पनि सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफु ‘महाराजधिराज’बाट अलग भएको जानकारी दिएका छन् ।
उनले आफ्नो होम प्रोडक्सन पल शाह फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा ‘यानीमाया’का कारण आफुले ‘महाराजधिराज’ छोड्नु परेको उल्लेख गरेका छन् ।

‘श्राबणको पहिलो साताबाट कथा, भुगोल, मौसमका कारण छायांकनमा जानै पर्ने बाध्यतामा रहेको मेरो आफ्नो सिनेमा ‘यानीमाया’मा म जिम्मेवार निर्माता र कलाकारको भूमिका निभाउनु पर्ने भएकाले दुवै सिनेमाको छायांकन एउटै समयमा हुने भएकाले एउटा सिनेमा छोड्नुपर्ने अवस्था आएको हो । मेरो पहिलो प्रथामिकता ‘यानीमाया’ हुनेछ,’ उनले लेखेका छन् ।
निर्माण पक्षले अब पलको ठाउँमा कसलाई लिन्छ भन्ने चासो दर्शकमाझ छ । पल अलगिए पनि सिनेमामा रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, वर्षा राउत, वर्षा सिवाकोटी लगायतका कलाकार यथावन् छन् । आगामी दशैंको फूलपातीमा रिलिज लक्ष्य राखिएको सिनेमालाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यसमा उनी स्वयंको लेखन रहेको छ ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










