मङ्गलबार, पुष ०९, २०८१

पल शाहको बहुप्रतीक्षित फिल्म ‘रावायण’ फ्लप !


२७ भदौ, काठमाडौं । गत असार २८ गते प्रदर्शन भएको ‘घरज्वाइँ’ पछि कुनै पनि नेपाली फिल्मले बक्सअफिसमा कमाल गर्न सकेनन्। साउन महिना एक त बर्खायाम, त्यसमाथि सामान्य फिल्म। जसले हलसम्म दर्शक नपुग्नु स्वाभाविकै मानियो।

भदौ सुरु भएपछि सिनेमाको प्रदर्शन क्यालेन्डर भरिभराउ हुन्छ। यो वर्ष पनि यस्तै भयो। ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ देखि अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित ‘शाम्बाला’ सम्मका फिल्म यस महिनाको क्यालेन्डरमा अटाए। यसमा पनि सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ बहुप्रतीक्षित थियो। एक्सन जनरामा निर्माण भएको फिल्मका मुख्य कलाकार थिए, पल शाह र पूजा शर्मा।

दक्षिण भारतीय फिल्मको फ्लेवर। त्यसमाथि पलको डबल रोल। गीतको रेकर्डदेखि गायकगायिका पनि भारतकै। पोस्टप्रोडक्सनको काम पनि उतै। अनि लभस्टोरीमा जमेका सुदर्शनले लिएको जोखिम। जसका कारण सिनेकर्मीलाई यस फिल्ममाथि ठूलो आस थियो।

रावायण घोषणादेखि नै चर्चामा थियो। रावायणबाट पल एक्सन हिरोको रूपमा उदाउने विश्वास गरिएको थियो। पूजाकै लगानी रहेको फिल्मले राम्रै हाइप बनाएको थियो। टिजरदेखि ट्रेलर हेरेर धेरैले मेकिङको प्रशंसा गरेका थिए। पब्लिसिटीमा पनि व्यापक खर्च गरिएको थियो। तर, शुक्रबार रिलिज भएको यो फिल्म बक्सअफिसमा नराम्ररी पछारियो। शुक्रबार र शनिबारसमेत फिल्मले दर्शकहरूको साथ पाउन सकेन। उपत्यकाका केही हलहरूमा पल-पूजा पुगेर दर्शकसँग भेटघाट गरे। सामान्य उपस्थितिलाई ठूलो भिडभाड देखाएर हल्लाखल्ला गरियो।

तर, आइतबारबाट फिल्मको अकुपेन्सी न्यून रह्यो। आज (बुधबार) को शो हेर्दा पनि फिल्मको बुकिङ दयनीय छ। तीन/चार सय सिट क्षमताको हलमा जम्मा ५ देखि १० टिकट बिक्री भएका देखिन्छन्। फिल्मको कमजोर व्यापार देखेर पल र पूजा पनि मोफसल हान्निएका छन्। फिल्म चलाउनका लागि उनीहरू मोफसलका दर्शकलाई भेटिरहेका छन्।

यसैबीच, फिल्म नचलेपछि फेरि पूजा अनेक फन्डा गरिरहेकी छिन्। पुण्य गौतमदेखि सन्तोष देउजासम्मका युट्युबरलाई बटुलेर मनलाग्दी बोलिरहेकी छिन्। दयाहाङ राईको फिल्म जातीय एकताले चलेको भन्नेदेखि आफूलाई यस उद्योगबाट लखेट्न खोजेको भन्नसमेत उनले भ्याएकी छन्। तर, फिल्म नै कमजोर भएपछि दर्शकले कसरी मन पराउँछन् त? यस फिल्मको कथावस्तुदेखि प्रस्तुतीकरणमा समेत समस्या छ। महिलाको चित्रणदेखि हिंसात्मक दृश्यको प्रयोग ज्यादा, ध्वस्त भीएफएक्स। जबर्जस्ती साउथ इन्डियन फिल्मको फ्लेवर ल्याउन खोज्दा फिल्म चल्न नसकेको विश्लेषण गर्न सकिन्छ।

फिल्म समीक्षक तथा लेखक सामीप्यराज तिमल्सेना पनि फिल्म गतिलो नहुँदा दर्शकहरूको साथ पाउन नसकेको बताउँछन्। उनले भने, ‘यो फिल्म नचल्नुका विभिन्न कारण छन्। जसमध्ये मुख्य कारण फिल्म गतिलो हुन नसक्नु नै हो। टिजर र ट्रेलरमा एक्सनमा खत्रा मेहनत गरेका थियौँ भनेर उनीहरूले हाइप बनाउन खोजे। तर, वास्तवमा दर्शकलाई तान्ने हिसाबको नहुँदा फिल्म नचलेको हो। सुदर्शन र पूजाका फिल्म चल्न छाडेको धेरै भइसक्यो।’

त्यसैगरी, लभरब्वायको भूमिकामा देखिँदै आएका पल शाहलाई एक्सन भूमिकामा स्वीकार गर्न नसकेको देखिन्छ। नक्कली दारीजुँगा र कपाल नसुहाएको प्रतिक्रिया आउँदा पल पनि क्यारेक्टरमा फिट भएका छैनन्।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading