06/13/2025, 10:47:15

सुदूरपश्चिमका चार सीमा नाकामा कोरोना परीक्षण सुरु


कञ्चनपुर, २९ जेठः भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ ।

भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन् । “कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पु¥याई परीक्षण कार्य भइरहेको छ”, जोशीले भन्नुभयो, “किटको आपूर्ति थोरै मात्रामा भएकाले आवागमनलाई मध्यनजर गरी प्राथमिकताका आधारमा उपलब्ध गराएका छौँ ।

हाल जुलाघाटलाई ५५, पुलघाटलाई २५, गड्डाचौकीलाई १०० र गौरिफण्टा हेल्थ डेस्कलाई १५० किट उपलब्ध गराइएका छन् । सीमानाकामा भारतबाट खेतीपातीका लागि फर्कनेहरूको सङ्ख्या बढ्दै गएकाले थप किट आपूर्ति गरिदिनका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको सूचना अधिकारीले जानकारी दिनुभयो । उच्च शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमानाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो । यही जेठ २१ गते गौरिफण्टा सीमानाकाबाट भित्रिने यात्रुको कोरोना परीक्षणको कार्य सुरु गरिएको थियो भने जेठ २७ गतेदेखि थप तीनवटा सीमानाकामा जाँचको व्यवस्था गरिएको छ । यही जेठ २१ देखि २८ गतेसम्म सीमानाका भएर फर्कने १६ जनाको एन्टिजेनको नतिजा पोजेटिभ आएको छ ।

गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी विशाल भट्टले यात्रुको चापअनुसार किटको सङ्ख्या थोरै रहेको छ । “शङ्कास्पद बिरामीको कोरोना जाँच कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “हेल्थ डेस्कमा पुनः कोरोना चेकजाँचको कार्य भएयता एन्टिजेनको नतिजा नेगेटिभ रहेको छ ।

सीमानाकामा सञ्चालित डेस्कमा सातजना कर्मचारी कार्यरत रहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ