06/07/2025, 08:31:46

मेयर बालेनले अझै बोलाएनन् कार्यपालिका बैठक


काठमाडौँ, २३ जेठ :काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक राख्न अनुरोध गर्दै कार्यपालिका सदस्यहरूले मेयर बालेन्द्र शाह (बालेन) लाई गत जेठ १२ मा पत्र बुझाएका थिए । जेठ १९ मा कार्यपालिकाको बैठक राख्ने तयारी थियो तर त्यो पनि हुन नसकेको प्रवक्ता नविन मानन्धरले बताए । साथै मेयर बालेनले बैठक कहिले बस्ने केही भनेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असारको १० गतेभित्र बजेट पेस गरिसक्नुपर्ने छ । तर काठमाडौं महानगरको भने गएको छ महिनादेखि कार्यपालिकाको बैठक बस्न सकेको छैन । यस्तो अवस्थामा सबै कार्यपालिका सदस्यहरू कार्यपालिकाको बैठक कुरिरहेका छन् ।

हामी कार्यपालिकाको पर्खाइमा छौं । अहिलेसम्म यसमा जाने बाटो खोलेको अवस्था छैन,’ उनले भने, ‘बैठकका लागि लिखित पत्र दिइसकेपछि मेयरसापले हामीलाई बोलाउनुपर्ने हो । अब पर्खिनु नै पर्‍यो ।

महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरू नै कार्यपालिकाको सदस्य हुन् । बैठकको अध्यक्षता मेयरले गर्छन् । साथै बैठक बोलाउने अधिकार पनि मेयरमा नै छ । महानगरका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले २०८१ चैत १० मेयर बालेनलाई भेटेर नै कार्यपालिका बैठक माग गरेका थिए ।

यो दोस्रो लिखित भइसक्यो । बैठक बोलाउने काम मेयरसाप कै हो,’ उनले भने, ‘अब बैठक बोलाउनुका लागि प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने हो वा के गर्ने यो कुरा उहाँलाई नै थाहै होला ।’ तर आगामी आर्थिक वर्षको योजना पेस गर्नुपर्ने र महानगरभित्रका समस्या समाधान गर्नलाई कार्यपालिका बैठक बोलाउनुपर्ने सबै सदस्यहरूको धारणा रहेको उनले बताए ।

यसैगरी महानगर वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने भएकाले कार्यपालिका बैठक छिटो बस्नुपर्ने बताए । ‘मेयरज्यूको अध्यक्षतामा बैठक बस्नुपर्ने हो । हामीले निवेदन दिएका हौं,’ उनले भने, ‘अब छलफल भइरहेको छ । सायद छिट्टै बस्छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएको र रोकिएका कुरा पनि कार्यपालिकाले खुला गर्ने भएकाले बैठक चाँडो राख्नुपर्ने उनको भनाइ छ । ‘हामीबीच यो भयो त्यो भयो भनेर हुँदैन,’ डंगोलले भने, ‘सबैको आवश्यकता सम्बोधन गर्ने माध्यम नै कार्यपालिका बैठक हो ।

महानगरको २०८१ पुस १४ मा नगर सभाको १६औं अधिवेशन बसेको थियो भने २०८१ मंसिर २३ मा ३७औं नगर कार्यपालिका बैठक बसेको थियो । त्यसयता महानगरको सभा तथा कार्यपालिका बैठक बस्न सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने व्यवस्था गरेको छ । यसैगरी महानगरले कार्यपालिका बैठक सञ्चालनका लागि ‘काठमाडौं महानगरपालिका, नगरसभा सञ्चालन कार्यविधि, २०७४’ तयार पारेको छ । कार्यविधिअनुसार सभाको अधिवेशन चालु नगरेको वा बैठक स्थगित भएको अवस्थामा बैठक बोलाउन उयपुक्त छ भनी सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरुको लिखित अनुरोध गरेमा अध्यक्षले त्यस्तो बैठक बस्ने मिति र स्थान तोक्नेछ । त्यसरी तोकिएको मिति, समय र स्थानमा सभाको अधिवेशन बस्ने उल्लेख छ । तर मेयर बालेनले अहिलेसम्म कार्यपालिकाको बैठक कहिले बस्ने भन्ने जानकारी कार्यपालिका सदस्यलाई दिएका छैनन् । ‘नियम कानुनअनुसार बैठक राख्नै पर्छ,’ वडा अध्यक्ष डंगोलले भने, ‘बैठक बस्नैपर्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

एकातिर महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन । अर्कोतिर भने महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रगति पनि सन्तोष जनक छैन । महानगरले यस आर्थिक वर्षका लागि २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर साउनदेखि वैशाखसम्ममा कूल बजेटको ३२ प्रतिशत मात्र खर्च हुन सकेको छ ।

महानगरको प्रमुख प्रशासकीय अधिकृत करिब ३ महिनाभन्दा बढी उपस्थिति नहुँदा सबै आर्थिक क्रियाकलाप बन्द भएको थियो । जसको असर महानगरको बजेट खर्चमा देखिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ