05/31/2025, 11:03:43

विद्यमान राजनीतिक प्रणालीको विकल्प खोज्न हुन्न : अध्यक्ष माधवकुमार नेपाल


काठमाडौँ, १६  जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो समयदेखिको जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको चाहनाअनुसार जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने विद्यमान राजनीतिक प्रणालीको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको बताउनुभयो ।

अहिले राजतन्त्र फर्काउनेबारे कुरा उठिरहेको बताउँदै उहाँले भन्नुभयो, “गणतन्त्रको विकल्प राजतन्त्र होइन । वंशको शासनले प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्न अवरोध गर्दछ ।

अध्यक्ष नेपालले आम जनताको चाहनाबमोजिम नै यो परिवर्तन आएको दाबी गर्दै परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्न सम्भव नरहेको उल्लेख गर्दै उहाँले समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणाका आधारमा जनताको आर्थिक समृद्धि तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा उत्पन्न सबै प्रकारका सङ्कट समाधानका लागि लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकजुट हुन आग्रह गर्नुभयो । मुलुकमा कृषि, पूर्वाधार, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसले ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्न सहयोग पुर्याउने बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ