05/30/2025, 16:35:28

सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा गणतन्त्रको घोषणा गरिएको हो : ईश्वर पोखरेल


काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै पनि नाममा कायम गरिने जन्मसिद्ध विशेष अधिकार, वंश परम्परामा आधारित तथा अनिर्वाचित शासन सत्ताप्रति असहमति र विरोधको जगमा अहिलेको लोकतान्त्रिक गणतन्त्र खडा भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले लामो सङ्घर्ष र त्यसमा प्राप्त गरेका अनेकौँ अनुभवका आधारमा नेपाली जनता यो ऐतिहासिक उपलब्धिका हकदार बनेको स्मरण गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “लोकतन्त्र–गणतन्त्र स्थापनापछि महत्वपूर्ण र ऐतिहासिक उपलब्धिहरू हासिल भए पनि यसले अनेकौँ उतारचढावपूर्ण मोडहरू पार गर्दै अगाडि बढिरहेको छ । देखिने र कतिपय बेला नदेखिने, देशभित्रका र बाहिरका पनि शक्तिहरूद्वारा सिर्जित समस्याहरूसित योग्यतापूर्वक जुध्दै र परिपक्वता प्राप्त गर्दै अहिलेको अवस्थामा हामीहरू आइपुगेका हौँ ।

सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा गणतन्त्रको घोषणा गरिएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले इतिहासमा सुरक्षित यो महान् र ऐतिहासिक प्रसङ्गलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ । “अग्रगति र प्रगतिलाई देख्न नचाहने÷देख्न नसक्ने र पुनःउत्थानको सोच राख्ने पक्षहरू प्रतिक्रियावादी मात्र होइनन्, प्रतिगामी शक्तिका मतियार हुन्, प्रतिगामी नै हुन् । अहिले त्यस्ता तत्वहरू सगबगाउन थालेका छन्, यो सगबगाहट पुनःउत्थानका लागि हो । यतिबेला पुनःउत्थानको प्रयत्न जन्मसिद्ध विशेषाधिकार, वंश परम्परामा आधारित शासन सत्ता र अनिर्वाचित शासन सत्ताको पुनःस्थापनाको चाहनास्वरूप भएको हो”, उहाँको भनाइ छ ।

राजतन्त्र स्थापना गर्ने कुरा त्यसैको ठोस अभिव्यक्ति भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पुनःउत्थानका लागि गरिने कुनै पनि प्रयत्न मासिनैपर्ने÷ नासिनैपर्ने विषय भएको बताउनुभयो । “विगत र भविष्य नभएका शक्तिहरू पनि लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने हतियार बन्ने कोसिस गरिरहेका छन्, नदेखिने गरी केही बाह्य शक्तिहरू यही खेलमा खेलाडी बन्ने प्रयत्न गरिरहेको आभाष भइरहेको छ । यसपटक गणतन्त्र दिवस मनाउन आयोजना भइरहेको जनस्तरको समारोहमा सहभागी हुनुहुने हरेक सहभागीले यिनै कुरा बुझेर सक्रिय सहभागी बनौँ र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढतापूर्वक अघि बढौँ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ