काठमाडौँ, १५ जेठ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व भएको बताउनुभएको छ । साथै उहाँले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।
“यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ”, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएका छन् । अनि आफ्नो देशको विकास आफँै गर्नुपर्छ भन्ने भावना विस्तार भएको छ ।”
मुलुकको आर्थिक विकासका प्रयासलाई थप सघन बनाउनुपर्नेमा जोड दिँदै उहाँले जनताको समृद्धिको आकाङ्क्षालाई साकार तुल्याउन दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।
आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास पूर्वराष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ ।