05/28/2025, 11:58:24

एप्पलले चिनियाँ कम्पनी अलिबाबाको एआई प्रविधि समावेश गर्ने


१३ जेठ, काठमाडौं : चीनमा बेचिने आइफोनहरूमा अमेरिकी टेक कम्पनी एप्पलले चिनियाँ कम्पनी अलिबाबाको एआई प्रविधि समावेश गर्ने भएको छ । संयुक्त अरब इमिरेट्सको दुवैमा भएको वर्ल्ड गभर्नमेन्ट समिटमा अलिबाबाका अध्यक्ष जोसेफ साईले आफूहरूसँग एप्पलले व्यावसायिक साझेदारी गर्ने तय भएको जानकारी दिएका हुन् ।

टेक क्रन्चको समाचारअनुसार अलिबाबासँग कुरा मिल्नुअघि एप्पलले बाइटडान्स र डिपसिकसँग पनि एआई फिचरका लागि छलफल गरेको थियो । हाल एप्पल र अलिबाबा दुवैले आवश्यक कागजपत्रहरू स्थानीय प्रशासनलाई बुझाइसकेको सो समाचारमा भनिएको छ ।

द न्यु योर्क टाइम्समा विगत एक दशकदेखि एप्पलबारे लेख्दै आएका पत्रकार ट्रिप मिकेलका अनुसार आईफोनमा चिनियाँ कम्पनीको एआई प्रविधि राख्ने सम्झौताबारे ट्रम्प प्रशासनसँगै अमेरिकी सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । ‘यस्तो सम्झौताले चिनियाँ कम्पनीलाई आफ्नो एआई क्षमता सुधार गर्न, सेन्सर सीप सहितका चिनियाँ च्याटबटहरूको पहुँच विस्तार गर्ने अमेरिकी पक्षको चिन्ता छ,’ मिकेल लेख्छन्, ‘ साथै, सेन्सर सीप एव‌ं डेटा सेयरिङसम्बन्धी चीनको कानुनी प्रभावमा एप्पल फस्दै जाने उनीहरूको आशंका छ ।

ट्रम्प प्रशासनले एप्पललाई चीनबाट आईफोन उत्पादन हटाएर अमेरिका सार्न दबाब दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमा आईफोन उत्पादन गर्ने कम्पनीको योजनाप्रति पनि आलोचना गरेका छन् ।

अलिबाबाले एप्पलसँगको साझेदारी पुष्टि गरे पनि यसबारे दुवै कम्पनीले औपचारिक प्रतिक्रिया भने दिएका छैनन् । चीनमा डिपसिक, बाइडुजस्ता कम्पनीले आफ्ना च्याटबट र लार्ज ल्या‌ंग्वेज मोडल सार्वजनिक गरिरहेका बेला यो सम्झौता अलिबाबाका लागि पनि प्रतिस्पर्धीमा उत्रिन महत्त्वपूर्ण मानिएको छ । एप्पलका लागि अझै महत्त्वपूर्ण देखिएको छ किनभने चीनमा आईफोनको बजार खस्किरहँदा यसले सकारात्मक माहौल बनाउन मद्दत गर्ने कम्पनीको अपेक्षा छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने अमेरिकामा निर्माण नभएका आईफोनहरूमा कम्तीमा २५ प्रतिशत भन्सार महसुल लगाउने चेतावनी दिएका छन् । साथै, युरोपेली संघबाट आयात हुने सबै सामानहरूमा पनि ५० प्रतिशत कर लगाउने बताएका छन् ।

एप्पलका प्रमुख टिम कुकले आईफोनको म्यानफ्याक्चरिङ प्लान्ट चीनबाट भारत सार्ने योजना सार्वजनिक गरेपछि ट्रम्पले त्यस्तो चेतावनी दिएका हुन् । ‘म चाहन्छु अमेरिकाभित्र बेचिने आईफोनहरू अमेरिकामै निर्माण गरिएका होउन्, यसबारे मैले धेरै अघिदेखि टिम कुकलाई जानकारी दिएको थिएँ,’ ट्रम्पले भनेका छन्, ‘भारत वा अन्य देशमा होइन, आईफोन अमेरिकामै बन्नुपर्छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ